साउन १४, २०७८ बिहिबार

कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण थप फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरूले सोचविचार गरिरहेको जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलको निर्णय गर्नसक्ने बताएका छन् । सिलको अवधिमा अत्यावश्यक सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको छ । बजार बन्द गरिएको छ भने सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको छ ।सामाजिक विकास मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा झापामा २६६ कोरोना सङ्क्रमित थपिएका छन् ।