उखु किसानहरूले चिनी मिलबाट भदौ ५ गतेसम्म बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरूले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम दिएका हुन् ।
उखु किसान संघर्ष समिति एवं नेपाल सरकार उद्योग मन्त्रालयवीच २०७७ साल पौष १३ गते पाँचबुँदे सहमति दोस्रो पटक भएको थियो । सहमति अनुसार २१ दिनभित्र उखु किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउन जिम्मेवारी लिएको थियो । तर सम्पूर्ण रकम भुक्तानी नगराइएको संघर्ष समितिले जनाएको छ ।