साउन १४, २०७८ बिहिबार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पङ्कज विक्रम नेम्वाङसहित दुई सञ्चारकर्मीविरुद्ध छानबिनको माग गर्दै निवदेन दिएका छन् ।

उपाध्यक्ष नेम्वाङसहित एउटा खेलकुद अनलाइनका दुई सञ्चारकर्मीमाथि छानबिन गर्न अलमुताइरीले बिहीबार निवेदन दिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएका छन् । उनका अनुसार आज मध्याह्न एन्फा कम्प्लेक्स नै आएर प्रशिक्षक अलमुताइरीले निवेदन दिएका हुन् ।

मुख्य प्रशिक्षकले एन्फा वरिष्ठ उपाध्यक्ष (पङ्कजविक्रम नेम्वाङ) र दुई सञ्चारकर्मीको विषयलाई लिएर छानबिन गर्न पत्र बुझाउनु भएको छ,’ उनले भने, ‘त्यसअघि नै उपाध्यक्ष र दुई सञ्चारकर्मीले पत्र बुझाउनु भएको छ । हामी तीनै पक्षको पत्र अध्ययन गरिरहेका छौं ।’

आइतबार प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको बताएका थिए । यता, नेम्वाङले भने अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए । उक्त विषयको छानबिन गर्न एन्फाले कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिसकेको छ ।

बैठक शुक्रबार (भोलि) अपराह्न चार बजे बस्ने प्रवक्ता राईले जानकारी दिए ।