साउन १५, २०७८ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरूलाई आह्वान गरेका छन् । सङ्क्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएकाले बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले सो आह्वान गरेका हुन् ।

उक्त रकम राज्यहरूले 'अमेरिका रेस्क्यु प्लान'अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने बीबीसीले जनाएको छ । अमेरिकामा डेल्टा भेरियन्टको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिँडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए ।

यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन पनि जारी गरेका छन् । बाइडेनले जारी गरेको निर्देशनअनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्ने छ । यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट ननिकालिने उनले बताए ।