भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम स्वदेश फर्किन थालेका छन् । स्वदेश फर्किएका नेपालीकाे सीमानाकामा स्वास्थ्य जाँच थालिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
भारतमा फैलिएको महामारी दार्चुलामा भित्रिन सक्ने अवस्थालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । नाकामा अहिले सीमावर्ती शहर धार्चुला किनमेलका लागि जाने र स्वदेश फर्किनेको भीड लाग्ने गरेको छ ।
भारतबाट आउने व्यक्ति अधिकांश दार्चुला बैतडी जिल्लाका नागरिक छन् । पुलघाट नाका हुँदै भारतबाट अहिले दैनिक रूपमा २५ देखि ३० जनाको हाराहारीमा मजदुर दार्चुला भित्रिरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । उनका अनुसार पिथौरागढ दिल्ली, चण्डीगढ, गुजरात, मुम्बईजस्ता ठाउँमा काम गर्न पुगेका मजदुर अहिले फर्किरहेका छन् भने नेपाल तर्फबाट पनि मजदुर भारततर्फ गइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्ला अन्य सबै नाकाहरूमा पनि कोभिड–१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यान दिँदै नेपाल भारत जोडने नाकाहरूमा कडाइ गर्न थालिएको बताइएको छ ।