एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जित निकालेको छ । बिहीबार राति भएको खेलमा इन्टरले पर्मालाई उसैको मैदानमा २-१ गोलले हराएको हो ।
पाहुना टोली मिलानको जितमा एलेक्सिस सान्चेजले दुई गोल गरे भने पर्माका हर्नानी अजेभेदो जुनियरले एक सान्त्वना गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक बने पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ५४औँ मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए ।
त्यस्तै ६२औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए ।
तर ७१औँ मिनेटमा जुनियरले गोल गर्दै पर्मालाई खेलमा फर्काउने कोसिस गरेका थिए । त्यसपछि बाँकी थप समय गोल नहुँदा इन्टर २-१ गोलले विजयी भयो ।
उक्त जितसँगै शीर्ष स्थानको इन्टरले २५ खेलमा ५९ अंक जोडेको छ । यता पर्मा भने १५ अंकका साथ रेलिगेशन जोनमा छ ।