साउन १६, २०७८ शनिबार

अफगानिस्तानका राष्ट्रपति

अहिले अफगानिस्तान सरकारले निकै ठूलो खतराको सामना गरिरहेको उल्लेख गर्दै अमेरिकाको एक संस्थाले अफगानिस्तान सरकारको अस्तित्व सङ्कटमा पर्नसक्ने जनाएको छ ।

युएस स्पेशल इन्सपेक्टर जनरल फर अफगानिस्तान (साइगर)ले अहिले जुन स्थिति देखिएको छ, त्यसको समाधान गरिएन भने वा यो ट्रेन्डलाई बदल्न सकिएन भने अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्न सक्ने भनेर आफ्नो रिपोर्टमा उल्लेख गरेको बीबीसीले जनाएको हो ।

यो रिपोर्टमा अफगानिस्तान सरकारका सेना र वायु सेना, घट्दो राजश्व र बढ्दो हिंसा जस्ता धेरै विषयहरुलाई संकटको कारणको रुपमा उल्लेख गरेको छ । रिपोर्टमा स्पष्ट तथ्यांकको माध्यमबाट भनिएको छ कतारको राजधानी दोहामा अमेरिका र तालिबान समूहबीच सम्झौता भएपछि पनि हिंसा बढिरहेको छ ।

गत वर्ष फेब्रुअरीमा अमेरिका र तालिबान समूहबीच भएको सम्झौता पछि तालिबानी लडाकुको तर्फबाट हुने आक्रमणमा बढोत्तरी भएको छ ।

यसै वर्ष मार्च २०२१ देखि मे २०२१ को बीचमा तालिबान लडाकुको तर्फबाट एक हजार तीन सय ८३ आक्रमण भएका छन् । यसका साथै सम्झौतापछि आम सर्वसाधारणको हत्याको संख्या बढेको पनि पाइएको छ । सन् २०२१ को पहिलो त्रैमासिकमा ६७३ जनाको हत्या भएकोमा दोस्रो त्रैमासिकमा त्यो संख्या बढेर ७०५ पुगेको रिपोर्टमा उल्लेख छ ।

राजश्वमा कटौती

रिपोर्टमा लेखिएअनुसार अफगानिस्तान सरकारलाई कूल आयात शुल्कको ३४.३ प्रतिशत हिस्सा हेरात, कन्धार र कुन्दुज प्रान्तस्थित सीमावर्ती चौकीबाट प्राप्त हुन्छ । तर यीसहित धेरै स्थान तालिबानको कब्जामा छन् र केही स्थानहरुमा दुई पक्षबीच हिंसात्मक संघर्ष जारी छ । तालिबानले ती चौकीहरु कब्जामा लिएर आफैंले सीमा शुल्क असुल्न सुरु गरेको समाचारहरु सार्वजनिक भएका छन् ।

रिपोर्टका अनुसार अफगानिस्तान सेनाका धेरैजसो दस्ता अफगानिस्तान नेशनल आर्मी स्पेशल अपरेशन कोप्सको मद्दत विना मिशनलाई सफल बनाउन नसक्ने स्वीकार गर्दछ । यसका साथै अफगानिस्तानबाट नेटो सेना फर्किएपछि अफगान वायु सेनामा अतिरिक्त दबाब परिरहेको छ ।

अफगान वायु सेना एयर सपोर्टदेखि लिएर टोही अभियान, आपूर्तिसमेत धेरै अन्य तरिकाका अभियानमा साथ दिंदै आएको छ । रिपोर्टमा चेतावनी दिइएको छ कि अफगान वायु सेनाका विमान यी अभियानलाई साथ दिन आफ्नो क्षमताभन्दा २५ प्रतिशत अतिरिक्त काम गर्दै आएको छ । उनीहरुले चाहिनेजति आराम पनि पाइरहेका छैनन्, जसबाट गम्भीर परिणाम आउन सक्ने अनुमान गरिएको छ ।