अस्ट्रेलियाका सिड्नीलगायतका शहरहरूमा जारी लकडाउनमा सर्वसाधारणले वेवास्ता गरेको भन्दै सिड्नी क्षेत्रमा सरकारले सेना परिचालन गरेको छ।
हालै परिचालन गरिएको अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू सङ्क्रमण भएका क्षेत्रमा लकडाउनसम्बन्धी नियम पालना भए वा नभएको हेर्न प्रहरीसँगै खटिन थालेका छन् । डेल्टा भेरियन्टका कारण अस्ट्रेलियमा ३ हजार मानिस सङ्क्रमित भएपछि लकडाउन लागू गरिएको हो। पाँच सातायता जारी गरिएको लकडाउनका बीच सिड्नीमा सङ्क्रमण दर झन् तीव्र बन्दै गएको छ।
यसैबीच सेना परिचालनप्रति सिड्नीका सर्वसाधारणले विरोध जनाएका छन् । अष्ट्रेलियामा आगामी अगस्ट २८ तारिखसम्म कायम रहने गरी लागू गरिएको लकडाउनमा आवश्यक व्यायाम, किनमेल वा हेरचाहका लागि वा अन्य कारणबाहेक घरबाट निस्कन प्रतिबन्ध लगाइएको छ।
यस्तै १० किलोमिटर भन्दा लामो यात्रा गर्न नपाइने नियम लगाइएको छ। यस्ता खरिददारी कार्य केवल अत्यावश्यक वस्तुका लागि मात्र हुनुपर्ने छ। फेयरफिल्ड काउन्सिल क्षेत्रमा बसोबास गर्ने र वृद्ध स्याहार एवं स्वास्थ्य सेवामा कार्यरत मानिस र क्यान्टबरी-ब्याङ्क्सटाउन इलाकामा बसोबास गर्ने अत्यावश्यक कर्मचारीहरूले मात्र अब हरेक तीन-तीन दिनमा कोरोनाभाइरसको परीक्षण गराउनुपर्ने भएको छ । अहिलेलाई लकडाउनमा रहेका प्रमुख आठ काउन्सिल क्षेत्रबाहेकका मानिसहरू हाल बसोबास नगर्ने घर तथा भवन निर्माण कार्य पनि पुनः सञ्चालन गर्न पाइने पनि सरकारी भनाइ छ।