साउन १६, २०७८ शनिबार

 एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकमा चीन ४१ पदकसहित शीर्ष स्थानमा उक्लेको छ ।

जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान उक्लन सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, ११ रजत र ११ कास्य पदक प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, ४ रजत र ७ कास्य पदक प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको अमेरिकाले १६ स्वर्ण, १७ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ ।

यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसिया ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । यसैगरी अस्टेलिया ९ स्वर्ण, २ रजत र ११ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ ।

बेलायत सात स्वर्ण, नौ रजत र नौ कास्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कास्यका साथ सातौँ, नेदरल्याण्डस् तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, पाँच रजत र ६ कास्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए ।

सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् ।

परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए।