दार्चुला,१६ साउन । दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा तुइन काटेर जयसिंह धामी बेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्रचार गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धार्चुलालाई सत्यतथ्य छानबिन गर्न पत्रचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् ।
भारतीय एसएसबीले तुइन काटेर नेपाली युवकको मृत्यु भएको भन्ने सन्दर्भमा सत्यतथ्य के हो भनेर जानकारी माग गरेको उनले बताइन् ।यस्तै घटनाका विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी खटाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले घटनाबारे वास्तविकता खुल्न नसकेको बताए ।
व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले शुक्रबार तुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता छन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए ।