फ्रान्सको एक चिडियाखानामा रहेको पाण्डाले जुम्ल्याहा छाउरा जन्माएकी छन्। फ्रान्सको मध्य क्षेत्रमा रहेको जूपार्क डी बेउभालमा हुएन हुएन नाम गरेकी पाण्डाले दुई छाउरा जन्माएको अधिकारीले जानकारी दिएका हुन्।
स्थानीय समय अनुसार सोमबार बिहानै हुएन हुएनले १४९ ग्राम र १२९ ग्राम तौल भएका दुई छाउरा जन्माएको चिडियाखानाका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
चिडियाखानाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘छाउराहरु निकै चञ्चल, पिंक र मोटा छन्।’ प्राकृतिक बासस्थान तथा चिडियाखानामै रहेका पाण्डाहरुको पनि प्रजनन् निकै कठिन हुने विज्ञहरुले बताएका छन्।
तर चीनबाट ऋणमा फ्रान्स लगिएकी हुएन हुएन भने अरु पाण्डा भन्दा भिन्न रहेको देखिएको छ। यसअघि हुएनले युएन मेङ्ग लाई जन्म दिएकी थिइन्। युएन फ्रान्समा जन्मिने पहिलो पाण्डा हो। युएन सन् २०१७ को मध्यमा जन्मिएको हो।
हुएन हुएन र उसको साथी भाले युएन जीबिच गएको मार्चमा ८ पटक संसर्ग भएको र त्यसबाट हुएन गर्भवती भइ अहिले जुम्ल्याहा छाउरा जन्माएको चिडियाखानाका कर्मचारीको भनाई छ। तर पक्का हुनका लागि भेटेरेनरी डाक्टरहरुले कृत्रिम रुपमा गर्भधारणको प्रयास पनि गरेका थिए।
विशेष गरि चीनमा पाइने पाण्डा अहिलेलाई संकटको सूचिमा नरहेको चिनियाँ अधिकारीले गएको महिना बताएका थिए। चीनमा प्राकृतिक बासस्थानमा पाण्डाको संख्या १८ सय रहेको छ।