काठमाण्डौ।
प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आज न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब भिड्दै छन् ।
प्रतियोगिता आजबाट बाँकेको नेपालगञ्जमा सुरु हुदैछ । विदेशी टोलीको पनि सहभागिता रहदै आएको यस प्रतियोगितामा यस वर्ष भने कोरोनाका कारण कुनै पनि टिम नरहेको आयोजकले जनाए ।
यस्तै आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र लुम्बिनी युनाइटेड बिच प्रतिस्पर्धा हुनेछ ।
बांके जिल्ला भलिवल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बढाइएको पुरस्कार राशी ३ लाखबाट बढाएर ५ लाख बनाइएको घोषणा गरेको छ ।आयोजकका अनुसार उपविजेताले २ लाख रूपैयाँ पाउनेछ भने तेस्रो हुनेले एक लाख र चौथोमा रहने टिमले ५० हजार रूपैयाँ पाउनेछन् ।
राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, न्यु डाइमन्ड एकेडेमी र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी पांच टोलीको सहभागिता रहनेछन् ।फाइनल फागुन २५ गते हुनेछ ।