साउन २०, २०७८ बुधबार

एजेन्सी । प्रि–सिजअन्तर्गत तेस्रो मैत्रीपूर्ण खेलमा साविको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।

मङ्गलबार राति भएको खेलमा सिटीले इंग्ल्याण्डको दोस्रो डिभिजन क्लब ब्लाकपुलमाथि ४–१ गोलान्तरको जित निकालेको हो । सिटी एकेडेमीको मैदानमा घरेलु टोलीलाई जिताउन इल्के गुन्डोगानले दुई गोल गरे भने रियाद महरेज र सामुअल इडोइजले एक–एक गोल गरे । ब्लाकपुलका लुक गार्बुटले एक गोल गरे ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो भने दोस्रो हाफमा सिटीले तीन गोल गर्दै जित दर्ता गरेको हो । सिटीले इङ्ग्लिस प्रिमियर लिगको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेको हो ।

सिटीले टोटनह्याम हटस्परसँग खेल्दै घरेलु लिगको थालनी गर्नेछ । त्यसअघि सिटीले एफए कपको फाइनलमा लेइस्टर सिटीको सामना गर्नेछ ।