साउन २०, २०७८ बुधबार

काठमाडौं । मंगलबार मात्रै आकस्मिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफू व्यवस्थापकको भूमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै पारसले आफू क्रिकेटबाट नटाढिने बताउँदै भूमिका मात्र बदलिने बताए ।

पारसले दुई वर्ष अघिनै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्न मात्र राष्ट्रिय टिममा बसेको उल्लेख गरे । त्यस्तै पारसले कप्तान र खेलाडीको रुपमा आफूले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पूरा गरेको जिकिर गरे ।

पारसले आफूले क्रिकेटरको रुपमा हासिल गरेका ठूलो सफलता दर्शकको माया र इज्जत नै भएकाले नेपाली क्रिकेटलाई माथि पुयाउनु आफ्नो कर्तव्य भएकोे बताए । क्रिकेट क्षेत्रको सुधारका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने उनले बताए । झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेका थिए ।

नेपाली क्रिकेटका सफल कप्तानका रुपमा रहेका पारसको कप्तानीमा नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयको मान्यतामा समेत पाएको थियो ।