फागुन २१, २०७७ शुक्रबार

म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा आज (शुक्रबार) काठमाडौँस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिने भएको छ।

म्यानमारका लोकतान्त्रिक आन्दोलनकारीमाथि जारी नरसंहारविरुद्ध बृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्न लागेको हो। बिहान ११ बजे नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन हुने छ।

म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिएको र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ।

बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन्।

बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ।

संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्न आग्रह गरेका छन्।

म्यानमारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन्।