नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) स्थानान्तरण नगर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहोराको नेतृत्वमा ११ जना पूर्वप्रहरी महानिरीक्षकले बुधबार उक्त आग्रहयुक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भने १४ पूर्वप्रहरी महानिरीक्षकको हस्ताक्षर छ ।
प्रहरी सङ्गठनलाई दूरगामी असर पुग्ने निर्णयका कारण ‘प्रहरी प्रशिक्षण प्रतिष्ठान जोगाऔँ’ अभियान सञ्चालन गर्नुपर्ने बाध्यता आएको भन्दै पूर्वमहानिरीक्षक बोहोराले प्रतिष्ठान अन्यत्र नसार्न आग्रह गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णयलाई गम्भीर रूपमा लिँदै यस सम्बन्धमा छलफल गर्ने आश्वासन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव बद्री तिवारीले बताए ।
राष्ट्रपति कार्यालयको सुविधा विस्तारका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साल भदौ २१ गते प्रहरी प्रतिष्ठान अन्यत्रै सार्ने निर्णय गरेको थियो । सो जग्गामा हेलिप्याड र विदेशी विशिष्ट पाहुनाका लागि आवास गृह बनाउने निर्णय गरिएको थियो ।
करिब १३० रोपनी तीन आना क्षेत्रफलमा प्रतिष्ठान फैलिएको छ ।