साउन २१, २०७८ बिहिबार

दार्चुला, २१ साउन । व्याँस गाउँपालिका–२ मालका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भको घटनाका सम्बन्धमा सदरमुकाम खलंगामा विभिन्न संघसंसस्था, प्रत्यक्षदर्शीहरूसँगको छलफलपछि गृह मन्त्रालयको छानबिन टोली आज घटनास्थल जाने भएको छ ।

दार्चुलाको व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी एसएसबीले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको घटना बाहिर आएपछि गृहमन्त्रालयको छानबिन टोली हिजो दार्चुला पुगेको थियो । सहसचिव जनार्दन गौतमको टोलीले प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीसहित सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, पत्रकार र प्रत्यक्षदर्शीसँग उक्त घटनाका विषयमा छलफल गरेको थियो ।

छलफलमा सहभागी अधिकांश व्यक्तिले सीमावर्ती क्षेत्रमा नेपालीमाथि भारतीय अर्धसैनिक बलले गर्ने ज्यादती र दुर्व्यवहारका बारेमा जानकारी गराएका थिए । आज छानबिन समिति पैदलै घटनास्थल जाँदै छ । सदरमुकाम खलंगाबाट व्याँस गाउँपालिका–२ माल पुग्न उक्त टोलीलाई दुई दिन लाग्ने छ । हेलिकोप्टरमा घटनास्थल जाने कार्यक्रम भए पनि मौसमको प्रतिकुलताका कारण उक्त टोली पैदल घटनास्थल जान लागेको हो ।