वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न मुलुकमा निधन भएका एक हजार दुई सय ४२ जनाका परिवारलाई आर्थिक सहायतामा मात्र ६३ करोड ४० लाख ९५ हजार रूपैयाँ वितरण गरिएको छ। त्यस्तै, बिमा कम्पनीहरूले सबा एक अर्ब रूपैयाँभन्दा बढी मृतकका आफन्तलाई उपलब्ध गराएका छन्।
बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको मृत्यु भएमा प्रतिपरिवार सात लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ। साथै, बिमा कम्पनीहरूले म्यादी जीवन गर्नेलाई प्रतिपरिवार १४÷१५ लाख रूपैयाँ उपलब्ध गराउँछन्। म्यादी जीवन बिमा नगरी वैदेशिक रोजगारीमा जान नपाइने नियम छ।
रोजगारीका लागि विभिन्न गन्तव्य मुलुक पुगेका युवाको मृत्यु भइरहँदा सुरक्षित रहने उपाय अझै अवलम्बन गरिएको छैन। सुरक्षित वैदेशिक रोजगारीका योजना भाषणमा मात्र सीमित छन्।