पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालले एमसीसी हुबहु पारित भए नेपालीको स्वाभिमान चकनाचुर हुने बताएका छन् । काँग्रेसकै पालामा सम्झौता भएर हाल संसद्मा विचाराधीन रहेको एमसीसीका विषयमा विवाद कायमै रहेको बेला कटवालले यस्तो बताएका हुन् ।
‘म फेरि भन्छु, एमसीसीमा लेखिएका प्रावधानसहित त्यसमा पनि संसद्बाट पास गराएर लागू गर्दा नेपालको सम्प्रभुता, स्वाधीनता र हाम्रो स्वाभिमान चकनाचुर हुन्छ’, कटवालले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
एमसीसीमा भएका देश हितविपरीतका प्रावधानहरू हटाउनुपर्ने भन्दै उनले जस्ताको तस्तै पारित गराउन खोज्ने नेताहरू नेपाली हुनै नसक्ने जिकिर गरेका छन् ।
आफ्नै पालामा सम्झौता भएको एमसीसी संसद्बाट अनुमोदन कार्यान्वयनमा लगाउने पक्षमा देउवा सरकार रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्केन गत साउन १२ गते टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीसहित दुई पक्षीय हितमा कुराकानी भएको बताइएको छ ।