काठमाडौँ,२२ साउन । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपालीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।
दुवै खेल दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भदौ १७ र २० गते (सेप्टेम्बर २ र ५) मा हुनेछ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले जम्मा दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ । नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफमा हराएको थियो ।
दशरथ रंगशालामा भएको उक्त खेल नेपालले २–१ ले जितेको थियो । त्यसपछिको पाँच भेटमा नेपालले एक बराबरी खेल्दा अन्य खेलमा पराजित भएको छ । नेपाल र भारत अहिले १३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीमा छन् । त्यसैका लागि मैत्रीपूर्ण खेल हुन लागेको हो । आगामी अक्टोबरमा गर्ने तयारी रहेको साफ च्याम्पियनसिपको आयोजक राष्ट्र तय भएको छैन । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरिसकेको छ ।