दार्चुला, २२ साउन । व्यास गाउँपालिकाअन्तर्गत महाकाली नदीमा अझै पनि ११ वटा तुइन छन् । स्थानीयका अनुसार व्यास गाउँपालिकाको वडा नम्बर ४ मा बर्तीघाट, मलघट्ट, दोकट, वडा नम्बर २ मा मालघाट, मल्लो दुम्लिङ, तल्लो दुम्लिङ र सग्नारी तथा वडा नम्बर ५ मा स्याकु र नाजीमा तुइन सञ्चालनमा रहेका छन् ।
मालघाटमा जयसिंह धामी तुइनबाट महाकाली नदीमा बेपत्ता भएपछि मालघाटसहितका अधिकांश तुइन दिउँसो त बन्द हुन्छन् । तर अचेल अधिकांश तुइन साँझ परेपछि वा रातिको समयमा सञ्चालनमा ल्याउने गरेको तुइन सञ्चालकले बताए । "तुइनबाट खसे पनि मर्ने" ती तुइन सञ्चालकले भने "तुइन नतरे भोकभोकै मर्ने । भोकै मर्नु भन्दा खाएर मर्नु बेश । यही सोचेर रात बिरात तुइनबाट कालीपारि तारिदिनुपर्यो भनेर मान्छे आउँछन् ।"
तुइन सञ्चालन रहेको सम्बन्धमा प्रहरी प्रशासनलाई जानकारी पनि छ । दुम्लिङबाट पैदल सदरमुकाम खलंगा पुग्न तीन दिन लाग्छ । त्यहाँबाट दैनिक उपभोग्य वस्तु तथा अत्यावश्कीय सामग्री खरीद गरेर फर्किदा समय धेरै लाग्छ । अर्कातिर सामानको मूल्य चर्को पर्छ । त्यही कारण यहाँका बासिन्दा तुइनमा महाकाली पार गरेर सीमावर्ती भारतीय बजारमा सामान खरीद गर्न जान बाध्य छन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले महाकाली नदीमा सचालनमा रहेका तुइहरूको सङ्ख्या जानकारी नभएको बताइन् ।