भारतीय सीमा सुरक्षा बल एसएसबीले रुपन्देहीको मर्चवार क्षेत्रमा ६ वर्षदेखि कब्जामा राखेको १० बिघा भूमि फिर्ता गरेको छ । दुई मुलुकका अधिकारी र सुरक्षाकर्मीबीचको आपसी समझदारीमा उक्त जग्गा मुक्त भएको हो ।
अहिले यस जग्गामा नेपाली किसानले धान रोपेका छन् । रुपन्देहीको मर्चवारमा दशगजा क्षेत्रमै जग्गा नियन्त्रण गरेर भारतीय सीमा सुरक्षा बलले बोर्डर आउट पोष्ट बनाएको थियो ।
केही क्षेत्रमा खोलालाई आधार मानेर सीमा निर्धारण गरिएको छ । तर, यी सीमा स्तम्भ खोलापारि पर्दछन् । खोलापारि ८ जनाको नाममा रहेको दश बिघा जमिन मालिकले जोतभोग गर्न नपाएपछि २०७२ देखि मालपोत बुझाएका थिएनन् । खोला वारपार गर्ने कुनै माध्यम थिएन । अहिले खोलामा पुल बनेको छ । पुल बनेपछि जग्गाधनीलाई मात्रै होइन स्थानीय सबैलाई सहज भएको छ ।
पारिवारिक भेटघाट, औषधोपचार र भारतीय बजारमा किनमेल गर्न जानेको भीड लाग्ने गरेको छ । पुल बनेपछि गुमेको जग्गा फिर्ता भएको छ । पुलको बाटो भएर दैनिक उपभोग्य सामान खरिद गर्न जानेको सङ्ख्या बढ्दो क्रममा छ भने तस्करी गर्नेको नयाँ मार्ग बनेको छ । अवैध कृयाकलाप रोक्न सरकारको उपस्थिति आवश्यक रहेको स्थानीयले बताएका छन् ।