एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च फुटबल प्रतियोगिता लिग वानमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा पिएसजीले ट्रोयसमाथि २–१ गोलको जित निकालेको हो ।
ट्रोयसको घरेलु मैदानमा पाहुना टोली पिएसजीलाई जिताउन अच्राफ हाकिमी र माउरो इकार्डीले १/१ गोल गरे । ट्रोयसका औअलिद हजामले १ गोल गरे । खेलको सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको नवौं मिनेटमा हजामले गोल गर्दै ट्रोयसलाई सुरुवाती अग्रता दिलाए ।
तर १९औं मिनेटमा हाकिमीले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए । हाकिमीले लिग वानमा पहिलो गोल गरेका हुन् । त्यसपछि खेलको २१औं मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । त्यसपछि बाँकी समय गोल नहुँदा पिएसजीले तीन अङ्क जोड्यो । पिएसजी हाल लिग वानको शीर्ष स्थानमा छ ।