साउन २४, २०७८ आइतबार

ग्रीसमा डढेलोको अवस्था गम्भीर बन्दै गएको छ। पछिल्लो ३० वर्षयताकै अत्यधिक गर्मीसँगै भीषण डढेलो लागेको हो। पछिल्लो १० दिनमा ग्रीसमा ५६ हजार हेक्टर भन्दा बढी वन क्षेत्र डढेलोले सखाप पारेको युरोपियन फरेस्ट फायर इन्फर्मेशन सिस्टमले जनाएको छ।

प्रधानमन्त्री किरिएकोस मित्सोताकिसले सरकारको पहिलो प्राथमिकता सर्वसाधारणको जीवन रक्षा रहेको बताएका छन्। डढेलोका कारण जोखिममा आएका विभिन्न क्षेत्रबाट हजारौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

डढेलो नियन्त्रणका लागि एक हजार भन्दा बढी अग्निनियन्त्रकहरु खटिएका छन्। एथेन्ससहितका क्षेत्रमा डढेलो गम्भीर अवस्थामा रहेको भन्दै अधिकारीहरुले चेतावनी दिएका छन्। पछिल्लो २४ घण्टामा एभिया आइल्याण्डमा दर्जनौँ डढेलो थपिएका छन्।

अर्कादिया र ओलम्पियासहितका क्षेत्रमा पनि भीषण डढेलो लागेको छ। ग्रीसमा डढेलोका कारण अहिलेसम्म कम्तीमा दुईजनाको ज्यान गइसकेको छ।

ग्रीसको छिमेकी देश टर्कीमा पनि इतिहासकै गम्भीर डढेलो लागेको छ। टर्कीमा डढेलोका कारण ८ जनाको ज्यान गएको छ भने प्रभावित भएको दक्षिण क्षेत्रका दशौँ हजार मानिस बिस्थापित भएका छन्। जलवायु परिवर्नले अत्यधिक गर्मी तथा सुक्खा मौसमको जोखिम बढाएका छ, त्यसले डढेलोलाई बढावा दिएको विज्ञहरुले बताएका छन्।