साउन २४, २०७८ आइतबार

२४ साउन, काठमाडौं । अफगानी सरकारसँग युद्धरत चरमपन्थी संगठन तालिबानले त्यहाँकाे उत्तरी क्षेत्रमा रहेका जाज्जान प्रान्तको सेबर्घान सहर नियन्त्रणमा लिएको बताएको छ ।

पछिल्लो दुई दिनमा तालिबानको कब्जामा गएको यो दोस्रो प्रान्तीय राजधानी हो ।
तर अफगानिस्तानका रक्षा मन्त्रालयका प्रवक्ताले सरकारी सेना अझै पनि सोही सहरमा रहेको र अब छिटै नै उक्त सहरलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउने दाबी गरेका छन् ।  यसअघि गत शुक्रबार निम्रोज प्रान्तको जारन्ज सहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।

तालिबानले पछिल्लो समय अफगानिस्तानमा आफ्नो कब्जा बढाउँदै लगेको छ । अहिले कुन्दुज र लस्कर गाहमा पनि भिडन्त भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । अमेरिका र अन्य अन्तरराष्ट्रिय सेनाले अफगानिस्तान छाड्न थालेसँगै अफगानिस्तानमा तालिबानले पकड बढ्न थालेको हो ।