साउन २४, २०७८ आइतबार

काठमाडौं । मंगलबार मात्रै नेपालका सर्वाधिक सफल क्रिकेटर तथा पुर्व कप्तान पारसले ३३ वर्षको उमेरमा सन्यासको घोषणा गरिसकेका छन् । अब नेपालले पारस खड्काले लगाउँदै आएका ७७ नम्बरको जर्सी प्रयोग नगर्ने भएको छ ।

आइतबार (आज) नेपाल क्रिकेट संघ (क्यान)ले पारसको सम्मान गर्दै उनले लगाउँदै आएका ७७ नम्बर जर्सी कहिल्यै प्रयोग नगर्ने जनाएको हो । पारसले सन् २००४ मा मलेसियाविरुद्ध अन्तरमहादेशीय कप तीन दिवसीय प्रतियोगिताबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।

त्यस्तै, सन् २००८ देखि ५० ओभरको खेलमा नेपालले कलर पोसाक लगाउँदै आएको थियो । सोही समयदेखि पारसले ७७ नम्बरको जर्सी लगाउँदै आएका थिए । जानकारी अनुसार कात्तिक ७ गते जन्मिएको हुनाले पारसले ७ महिना ७ गतेको आधारमा ७७ नम्बरको जर्सी प्रयोग गर्दै आएका थिए ।