आज साउन महिनाको चौथो सोमबार, हिन्दू धर्मावलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरू शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर-घरमै पूजाआजा गरिँदै छ ।
विशेषत: महिलाहरूले हरियो रङ्गका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् ।
साउन महिनाको सोमबार शिवको प्रीय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो र पहेंलो वस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् ।दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
व्रत बस्दा के खाने के नखाने ?
• सोमबार व्रत बस्दा आलु, दही-आलु खान सकिन्छ । त्यस्तै वर्त समाप्त भएपछि खाना खान मन नभएको खण्डमा आटाको रोटी बनाइ आलुसँग खान सकिन्छ ।
• व्रतको दिनमा फलफूल र फलफूलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भए पनि स्वास्थ्यमा समस्या हुनेले केही चिजहरू भने खान सकिन्छ ।
• व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रूपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा बढी चाहिने हुँदा पानी प्रशस्त पिउनुपर्छ ।
• व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रत बस्दा चिल्लो–पिरो खानुहुँदैन ।
• त्यस्तै व्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले व्रत बस्नुहुँदैन ।
आज पनि पशुपतिनाथ नखुल्ने
साउनको चौथो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत अझै बन्द छ ।
अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले थपेको निषेधाज्ञामा मन्दिर, शैक्षिक संस्था बन्द नै रहने निर्णय गरेको छ ।