साउन २५, २०७८ सोमबार

एजेन्सी । स्पेनिस ला लागि फुटबल क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । सोमबार बिहाना सम्पन्न भएको खेलमा इटालियन क्लब युभेन्ट्समाथि ३-० को सहज जित निकाल्दै बार्सिलोनाले उपाधि हात पारेको हो ।

घरेलु टोली बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा २ गोल सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै यसै समरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका मेम्फिस डिपाएको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

५७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जितसहित च्याम्पियन बनाए । रिकी पुच ७१औं मिनेटमा सर्जि रोबर्टोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस्तै उक्त खेलको केहि समय अघि मात्रै बार्सिलोनाले आफ्नो सुपरस्टार फरवार्ड लियोनल मेस्सीलाई बिदाई गरेको थियो । करिब २१ बर्ष लामो बार्सिलोनाको बसाइँ अन्त्य गर्दै बाहिरिएका थिए । अब उनी कता जान्छन् भन्नेमा धेरै चासो रहेको छ । सम्भवत मेस्सी फ्रेन्च क्लब पेरिस सेन्टर जर्मन (पिएसजी) जाने निकै ठूलो चर्चा रहेको छ ।