साउन २५, २०७८ सोमबार

अमेरिकाको क्यालिफोनिर्या राज्यमा लागेको डढेलो नियन्त्रणमा लिने प्रयासमा अग्नि नियन्त्रकहरु लागेका छन् । क्यालिफोर्नियाका विभिन्न क्षेत्रमा अहिले ११ वटा डढेलो सक्रिय अवस्थामा छन् । डिक्सी डढेलोले ग्रीनभिलको ऐतिहासिक गोल्ड रस टाउन ध्वस्त बनाएको छ । स्थानीय अधिकारीहरुले डढेलो नियन्त्रणमा लिनका लागि केही हप्ता लाग्ने बताएका छन् । अत्यधिक गर्मीका कारण उद्धार तथा नियन्त्रणको काम प्रभावित भएको छ ।

डिक्सी डढेलो जुलाई १३ मा सुरु भएको हो । त्यसयता सो डढेलोले एक लाख ८७ हजार हेक्टर भन्दा बढी क्षेत्रफल सखाप पारेको छ । अहिलेसम्म सो डढेलोको २१ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ ।

गएको वर्षको अगस्ट कम्प्लेक्स डढेलोभन्दा केही मात्रै सानो आकारको छ डिक्सी डढेलो । तीनजना बेपत्ता रहेको र हजारौँ मानिस सुरक्षित स्थानमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पुमास काउन्टीको ३९ प्रतिशत क्षेत्रका बासिन्दा पनि सुरक्षित स्थानमा जानु पर्ने अधिकारीहरुले बताएका छन् । डिक्सी डढेलो नियन्त्रणमा लिनका लागि पाँच हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।