मंसिर १६, २०८१ आइतबार

    किएभ, युक्रेन, १६ मङ्सिर: युरोपेली सङ्घका नयाँ उच्च कूटनीतिज्ञ काजा कल्लास र युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले जिम्मेवारी सम्हालेको पहिलो दिन इयूको नयाँ नेतृत्वको युक्रेनप्रतिको सद्धभाव प्रकट गर्न आइतबार किएभ आइपुग्नुभएको छ ।     
     
“हामी युक्रेनको साथमा छौं भन्ने स्पष्ट सन्देश दिन आएका हौं र हामीले आफ्नो पूर्ण समर्थन जारी राख्नेछाँैं,” कोस्टाले पत्रकारसँगको कुराकानीमा भन्नुभयो ।     
     
युरोपेली सङ्घको नयाँ नेतृत्व टोलीले युक्रेनका लागि खतरनाक क्षणमा किएभलाई समर्थन गर्न दृढ रहेको देखाउन चाहेको छ।     
     
जनवरीमा डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकी समर्थनको भविष्यलाई लिएर प्रश्नहरू उठिरहेका छन् र उहाँले छिटो शान्ति सम्झौताको खोजीमा किएभलाई दवाव दिनसक्ने चिन्ता यूरोपेली अधिकारीहरूको रहेको छ ।     
     
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना युक्रेनी राजधानीमा रहेका सरकारी भवनमा आफ्नो नयाँ ओरेश्निक क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएपछि अमेरिकालगायतका युक्रेनका सहयोगी यूरोपेली राष्ट्रहरूले युक्रेनप्रतिको समर्थन जारी रहने आश्वासन दिएका छन् ।     
     
किएभले अमेरिकी र बेलायती क्षेप्यास्त्रले रूसभित्र आक्रमण गर्ने अनुमति पाएको प्रतिक्रियास्वरुप यो कदम चालेको र हतियार आपूर्ति गर्ने देशहरूविरुद्ध जवाफी हमला गर्ने चेतावनी दिएको रूसी नेता पुटिनले बताउनुभएको थियो ।     
     
जाडो याम सुरु भएसँगै रूसले युक्रेनको विद्युत ग्रिडमाथि व्यापक आक्रमण पनि गरेको छ र अग्रपङ्क्तिमा रहेको किएभको थकित सेनाले मस्कोको निरन्तरको आक्रमणका कारण आधार गुमाइरहेका छन् ।     
     
इस्टोनियाका पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका इयूका उच्च कूटनीतिज्ञ कल्लासले भन्नुभयो, “युक्रेनको अवस्था अत्यन्त गम्भीर छ । तर यसो गर्नु रूसको लागि पनि धेरै उच्च लागत पर्नेछ ।     
     
युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयेनसहित युरोपेली सङ्घका शीर्ष अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ ।     
     
जेलेन्स्कीले शुक्रबार सम्भावित शान्ति वार्ताअघि आफ्नो अडान सार्वजनिक गर्न थालेको देखिन्छ ।     
     
उहाँले नेटोलाई ‘युद्धको आक्रामक चरण रोक्न’ किएभद्वारा नियन्त्रित युक्रेनका केही भागहरूमा सुनिश्चित गरिएको सुरक्षा प्रदान गर्न र त्यसपछि मात्र रूसद्वारा कब्जा गरिएको अन्य क्षेत्रहरू फिर्ता लिने अभियानलाई बढाइने व्यवस्था मिलाउन आह्वान गर्नुभयो ।     
     
जेलेन्स्कीले बेलायतको स्काई न्यूजसँगको अन्तवार्तामा भन्नुभएको थियो, “यदि हामी युद्धविरामको कुरा गर्छौं भने पुटिन पुनः युक्रेन आक्रमणमा फर्कने छैनन् भन्ने ग्यारेन्टी चाहिन्छ।”     
     
कल्लासले भन्नुभयो, “सबैभन्दा बलियो सुरक्षा ग्यारेन्टी नेटोको सदस्यता हो।     
     
उहाँले भन्नुभयो, “हामीले निश्चित रूपमा यस विषयमा छलफल गर्न आवश्यक छ । यदि युक्रेनले सीमा रेखा कोर्ने निर्णय गर्छ भने पुटिन अघि नआउने गरी हामी कसरी शान्ति कायम गर्न सक्छौं छलफल गर्नु आवश्यक छ।”     
     
रूससँग युद्धमा तानिन सक्ने चेतावनी दिएका सदस्यहरूको एक समूहले विरोध जनाएका कारण नेटोका कूटनीतिज्ञहरूले युक्रेनलाई गठबन्धनको सदस्यता प्रदान गर्नेे सम्भावना कमै रहेको बताएका छन ।     
     
कल्लासले कुनै पनि युद्धविराम लागू गर्न मद्दत गर्न युरोपेली सेना पठाउने प्रश्नको सन्दर्भमा ईयूले कुनै पनि कुरालाई इन्कार गर्न नहुने बताउनुभयो ।