कैलाली : धनगढीमा ११ करोडको लागतमा निर्माण सम्पन्न भएको सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको उद्घाटन र रेडक्रसलाई हस्तान्तरण गर्ने कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासको टोली पनि आएको थियो । सोही टोलीमा बर्दीधारी अमेरिकी सैनिक पुगेका थिए । २६ दिनअघि कैद गरिएको रक्त सञ्चार केन्द्र उद्घाटनको तस्बिर अहिले भाइरल भएपछि देशभरी तरङ्ग फैलिएको छ।
यता अमेरिकी सेना आएको भन्दै संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले चासो राखेको छ। अमेरिकी सैनिक पोशाकसहित उपस्थित भएको भन्दै सांसद भीम रावल, प्रकाशमान सिंह, पुष्पा भुसाल, दीपप्रकाश भट्टलगायतले चासो राखेपछि परराष्ट्र मन्त्रालयसँग यस विषयमा जानकारी माग गरिएको समिति सभापति पवित्रा निरौलाले बताइन्। ‘भवन उद्घाटन गर्न बर्दीधारी अमेरिकी सेना धनगढी पुगेको हो भन्ने खबर आएको छ,’ उनले भनिन्, ‘मान्यज्यूहरूले चासो राखेपछि परराष्ट्र मन्त्रालयसँग मैले जानकारी मागेकी छु।’
नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले भने दूतावासको मापदण्डअनुसार बर्दीधारी अमेरिकी सैनिक धनगढी पुगेको बताए। ‘सुदूरपश्चिम रक्त सञ्चार केन्द्र अमेरिकी जनताको सहयोगमा निर्माण भएको हो,’ उनले भने, ‘बर्दी लगाएर नै कार्यक्रममा उपस्थित हुनुपर्ने उनीहरूको नियम रहेछ। त्यसैले बर्दीसहित कार्यक्रममा पुगेका हुन्।’ अमेरिकी सैनिक बर्दीसहित धनगढी पुगेकोबारे नेपाली सेना भने बेखबर छ। अहिले नेपालमा एमसीसीबारे चर्चा चुलिएको सयममा अमेरिकी सैनिक बर्दीमा देखिएपछि देशभर विरोध भइरहेको छ। हुन त ०७५ माघमा रक्त सञ्चार केन्द्रको भवन शिलान्यास गर्दा पनि अमेरिकी सेना बर्दीसहित धनगढी पुगेको थियो।