हुम्ला, साउन २७ गते । नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको ११ जनाको टोली नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको सीमा स्तम्भमा पुग्न सफल भएको हो ।
नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उहाँले बताउनुभयो । गाडी जाने ठाउँसम्म गाडी र त्यसपछि तीन दिन पैदल हिँडेर ३ नम्बर सीमा स्तम्भसम्म पुगेको बताउँदै उहाँले पाँच हजार १०८ मिटर अग्लो स्थानमा रहेको सीमा स्तम्भमा पुग्न निकै कठिन रहेको बताउनुभयो ।
हिउँले १०/११ महिना ढाक्ने सो क्षेत्रमा उपयुक्त समयमा गएका कारण सीमा स्तम्भको पहिचान गर्न सफल भएको हो । मानवबस्ती नभएको सो क्षेत्रमा टोलीले आफूलाई आवश्यक पर्ने सबै कुरा बोकेर सीमाको अनुगमनमा निस्कनुपरेको थियो ।
अब ४ नम्बर स्तम्भ बाँकी
डीएसपी भण्डारीले आफ्नो टोलीले एउटा लक्ष्य पूरा गरेर हेडक्वाटर फर्केको बताउँदै अब हुम्ला खण्डमा पर्ने ४ नम्बर सीमा स्तम्भको पहिचान गर्न बाँकी रहेको बताउनुभएको छ । हुम्ला खण्डमा पर्ने नेपाल–चीनका सीमा स्तम्भहरूमा ३ देखि १२ नम्बरका १५ वटा सीमा स्तम्भ रहेका छन् । ४ नम्बरबाहेक बाँकी १४ वटै स्तम्भमा सुरक्षाकर्मी पुगिसकेको उहाँले बताउनुभयो । किटदेखि हिल्सा क्षेत्रमा पर्ने ५ देखि ९ नम्बरका सीमा स्तम्भहरू १ र २ गरी १० वटा रहेका छन् । बाँकी १० देखि १२ नम्बर सीमा स्तम्भहरू हिल्साको टाकुले भञ्ज्याङदेखि लिमीको लाप्चा क्षेत्रमा रहेका छन् ।