एजेन्सी । लण्डन क्लब चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न भएको फाइनल खेलमा चेल्सीले भिल्ला रियललाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले हराएको हो । योसँगै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो ।
निर्धारित समयको खेलमा १-१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
चेल्सीका लागि हाकिम जियाचले खेलको २७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले पछि परेको भिल्लाले दोस्रो हाफको खेलको ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्ला रियल युरोपा लिग विजेता हो । नयाँ सिजन सुरु हुनुअघि दुवै टिम सुपर कपका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।