साउन २८, २०७८ बिहिबार

२८ साउन काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक महिना सार्वजनिक गर्ने पुरुष फुटबल टोलीको वरीयतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । गत २७ मेमा सार्वजनिक भएको वरीयतामा नेपाल १७१औं स्थानमा थियो ।

त्यस्तै आज बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा उक्लिएको छ । फिफा वरीयताको शीर्ष स्थानमा बेल्जियम र दोस्रो स्थान ब्राजिलले लिएको छ ।

यसअघि दोस्रो स्थानमा रहेको फ्रान्स भने एक स्थान तल झरेको छ । यस्तै, चौथो स्थानमा इङ्ग्ल्यान्ड यथावत हुँदा पाँचौं स्थानमा युरो कप विजेता इटाली आइपुगेको छ । यसअघि पाँचौं स्थानमा रहेको पोर्चुगल आठौं स्थानमा खस्केको छ ।

यस्तै, कोपा अमेरिका जितेको अर्जेन्टिना छैटौं स्थानमा उक्लिएको छ । स्पेन भने सातौं स्थानमा झरेको छ । आठौं स्थानमा पोर्चुगल रहँदा नवौं मेक्सिको , अमेरिका दसौं स्थानमा उक्लिएका छन् । 

दक्षिण एसिया

दक्षिण एसियामा यस महिना वरीयता सुधार गर्ने नेपाल एक्लो टोलीसमेत हो । साथै दक्षिण एसियाली राष्ट्रतर्फ नेपाल तेस्रो स्थानमा छ । फिफा वरीयताको १०५औं स्थानमा झरेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमा छ । माल्दिभ्स दश स्थान तल झर्दै १५८औं स्थानमा छ । माल्दिभ्स दक्षिण एसियातर्फ भने दोस्रो स्थानमा छ । फिफा वरीयतामा यथावत रहेको भुटान १८७ औं स्थानमा छ । ऊ चौथो स्थानमा रहेको छ ।

फिफा वरीयतामा आठ स्थान तल झर्न पुगेको बंगलादेश १८८औं स्थानमा छ र दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । उता हाल फिफाको कारवाहीमा परे तापनि फिफाले निकालेको वरीयतामा पाकिस्तान १९८औं स्थानमा छ भने ६ स्थान तल झरेको श्रीलङ्का फिफा वरीयतामा २०५औं स्थानमा छ ।