काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविको विजेता बायर्न म्युनिखले नयाँ सिजन २०२१/२२ को पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
शुक्रबार राति बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
मोन्चेनग्लाडबाखको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बायर्नका रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका हुन् ।
खेलको १० औं मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई सुरुवाती अग्रता दिलाएका थिए । लार्स स्टिन्डीलको पासमा उनले गोल गरेका हुन् ।
तर, खेलको ४२ औं मिनेटमा जोसुवा किमिचको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।
उक्त बराबरीसँगै बायर्नले सिजनको पहिलो खेलमा १ अंक पाएको छ । मोन्चेनग्लाडबाखले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।