पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।
पीएसजीले लिगमा लगातार दोस्रो जित निकालेको हो । शनिबार राति १० खेलाडीमा सिमित स्ट्रासवर्गलाई पीएसजीले ४–२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी, केलियन एमबाप्पेल, जुलियन ड्राक्सलर र पाब्लो सरावियाले एक–एक गोल गरे । उता स्ट्रारवर्गका लागि केभिन गामिरो र लुडोभिचले एक–एक गोल फर्काए ।जितसँगै पीएसजीले २ खेलमा ६ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । स्ट्रासवर्गको यो लगातार दोस्रो हार हो । स्ट्रासवर्ग पुछारमा रहेको छ ।
माउरो इकार्डीले खेलको तेस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।२५ औं मिनेटमा एमबाप्पेले गोल गर्दा पीएसजीको अग्रता दोब्बर पारे । २७ औं मिनेटमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए ।
खेलको ५३ औं मिनेटमा केभिन गामिरोले गोल गर्दै स्ट्रासवर्गलाई ३–१ को स्थितिमा ल्याए । ६४ औं मिनेटमा लुडोभिचले गोल गर्दै स्ट्रासवर्गलाई ३–२ को अवस्थामा ल्याए ।८१ औं मिनेटमा एलेक्सजेन्डर डिज्कुले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि स्ट्रासवर्ग १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै पीएसजीलाई ४–२ को जित दिलाए ।