साउन ३२, २०७८ सोमबार

स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले नुवाकोटको बेलकोटगढी न.पा वडा नं. ९ रातमाटेमा एमसीसीका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेका छन् ।

शनिबार अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर सो स्थान कब्जा गरेको घोषणा गरिएको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले जानकारी दिए । एमसीसीले सो जग्गामा कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने नेपालले चेतावनीसमेत दिए ।

शनिबार भएको प्रदर्शनमा ४ सय रोपनी जमीनमा नारा जुलुससहित एमसीसी चाहिँदैन, नेपाल आमा जिन्दावाद, विदेशी हस्तक्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाइएका थिए ।

नेपालका अनुसार कार्यक्रममा स्थानीय अधिग्रहण पीडितहरूले आफूहरूलाई झुक्याएर जग्गा अधिग्रहण गरिएको पीडा रुँदै रुँदै सुनाएका थिए । स्थानीय ७० वर्षीय बालकृष्ण न्यौपानेले आफ्नो जमीन आफूलाई झुक्याएर अधिग्रहण गरिएको र सो जमीन छोड्नुभन्दा आफू प्राण त्याग्न तयार भएको कार्यक्रममा बताए ।

त्यसैगरी स्थानीय राममणि नेपालले पनि आफूहरूलाई एमसीसीका कर्मचारी, एमसीसीका स्थानीय जनप्रतिनिधिहरूको नाम नै उल्लेख गरेर आफूहरू एमसीसीविरुद्ध बोलेमा जे पनि गर्न सक्ने धम्की दिने गरेको बताए । कार्यक्रममा उनीहरूले उक्त स्थानमा एमसीसीको कुनै पनि संरचना निर्माण गर्न नदिने र प्रतिकार गर्ने बताएका थिए ।

कार्यक्रममा एमसीसीले अधिग्रहण गरेको जग्गामा उक्त घोषणासहित झण्डा गाड्दै उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा अधिवक्ता स्वागत नेपालले सो स्थानमा उप्रान्त एमसीसीको कुनै पनि संरचना निर्माण गरिएमा तत्काल ध्वस्त बनाइने चेतावनी दिए ।

एमसीसीले सो स्थानमा जग्गा अधिग्रहण गरिएका व्यक्तिहरूलाई प्रलोभन, झुक्यान र डर धाक धम्की दिएर एमसीसी पक्षधर नेता र प्रशासकहरूले जमीन अधिग्रहण गरेको कारण उक्त स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद स्टेडियम निर्माण गरिनुपर्ने नेपालले बताए ।

सो स्थानमा प्रतिकारका लागि उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ५०० सदस्यीय एमसीसी प्रतिकार समिति पनि गठन गरेको घोषणा गरेको छ ।

कार्यक्रममा उन्नत लोकतन्त्र पार्टीका केन्द्रीय सदस्यहरू कृष्ण प्रसाई, रामराजा आचार्य, शिवराम थापा, दुर्गा बस्नेत, नरेन्द्रकुमार शाह सहभागी थिए ।

त्यसैगरी विरोध प्रदर्शनमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका केन्द्रीय सदस्य, इन्द्र कालिकोटे, दीपेन्द्र मोक्तान, संगीता घिमिरे, मीना बस्याल, मोहन सोती, विद्यार्थी संगठनका अध्यक्ष केके थापालगायतको सहभागिता थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले एमसीसीले नेपाललाई कानुनी रूपमा अमेरिकी उपनिवेश बनाउने चाल रचेको आरोप लगाएका थिए ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपालको संसद्बाट पारित नहुँदै कार्यान्वयनमा गइसकेको छ । यही क्रममा ट्रान्समिसन लाइन निर्माणका लागि नुवाकोटको बेलकोटगढीमा एमसीसी नेपालले जग्गा अधिग्रहण कार्य अघि बढाएको हो ।