एजेन्सी । भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि विमानस्थलमा पुगेका मानिसहरूमध्ये सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना अफगानीको विमान उडिरहेका बेला खसेर मृत्यु भएको बताइएको छ ।
काबुल सहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू खसेको भिडियो पनि आएको छ । जसमा मानिसहरू खस्दै गरेको देख्न सकिने 'दैनिक भास्कर'मा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । उनीहरू सैन्य विमानको टायरमा बसेर भाग्न खोजेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेको तस्बिर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ । हाल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा रहेको छ । रोयटर्सका अनुसार विमानस्थलमा भएको गोलीबारीमा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियामा भुइँमा शवहरू देख्न सकिन्छ ।