साउन ३२, २०७८ सोमबार

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध हितेन्द्रदेव शाक्यले सोमबार रिट दायर गरेको सर्वोच्च अदालतले जनाएको छ । 

उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानुन र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै शाक्यले रिट दर्ता गरमएका हुन् ।

'प्राधिकरणको कार्यकारी निर्देशक पदबाट मैले राजीनामा दिएको छैन भन्ने कुरा निर्विवाद छ। त्यसैगरी मलाई विपक्षी नेपाल सरकारले उक्त पदबाट सुनुवाइको मौका प्रदान गरी कुनै कानूनी आधारमा हटाउने निर्णय गरेको छैन भन्ने कुरा पनि निर्विवाद छ,' उनको रिटमा भनिएको छ, 'यस्तो अवस्थामा मेरो यथावत रहेको नेपाल विद्युत् प्राधिकारणको कार्यकारी निर्देशक पदमा विपक्षी कुलमान घिसिङलाई नियुक्ति गर्ने कार्य कानुन र औचित्यको समेत प्रतिकूल छ।'

साउन २५ गते बसेको मन्त्रपरिषद् बैठकले आफूलाई ऊर्जा आयोगको विज्ञका रूपमा नियुक्त गरेकामा पनि उनले असन्तुष्टि जनाएका छन् । आफूले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गरेर कुलमानलाई नियुक्त गरिएको शाक्यको जिकिर छ । 

'एउटा पदमा दुई व्यक्ति रहन नसक्ने र मलाई गरिएको ऊर्जा आयोगको विज्ञको पदलाई मैले स्वीकार गरेको अवस्था नहुँदै अप्रत्यक्ष तवरमा मलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विस्थापित गर्ने उद्देश्यले विपक्षी कुलमान घिसिङलाई उक्त पदमा नियुक्त गर्ने विपक्षीहरूको कामकारबाहीले सो पदमा रही सेवा गर्ने र प्राधिकरणको नेतृत्व  गर्ने मेरो वैध अपेक्षामा प्रतिकूल असर गरेको छ।'

मन्त्रिपरिषद्का निर्णयले आफूलाई संविधानले दिएको पेशा रोजगार गर्न पाउने स्वतन्त्रता, समान संरक्षणको हक, इच्छाविरूद्ध काममा लगाउन नपाइने हकलगायतका हक हनन गरेको शाक्यको रिटमा उल्लेख छ ।