१ भदौ, काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरू जजिरा एयरको विमानमार्फत आज बिहान काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरूलाई उद्धार गरेर कतार पुर्याएको थियो ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३ सय ८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना आज बिहान आइपुगेका हुन् । उनीहरुलाई दोहाबाट कुवेतको अल–जजिरा विमानस्थलबाट नेपाल ल्याइएको हो । उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।
स्वदेश ल्याइएकाहरुलाई प्रकिया पुर्याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल ल्याइएकाहरुको स्वास्थ्य जाँच गरेर संक्रमण भएमा उपचारपछि घर पठाइने र संक्रमण नभए सिधैँ घर पठाइने छ । अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन् ।