भदौ २, २०७८ बुधबार

काठमाडौँ, भदौ २ गते । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब रुपियाँ नाफा र चुहावट नियन्त्रणमा पनि राम्रै सफलता पाएको नेपाल विद्युत् प्राधिकरण आर्थिक वर्ष २०७७/७८ मा कमजोर देखिएको छ ।

प्राधिकरणको ३६औँ वार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेको प्रतिवेदनले उच्चदरमा नाफा खुम्चिएको, विद्युत् चुहावट बढेको, र आफ्नै आयोजनाबाट विद्युत् उत्पादनसमेत घटेको र विद्युत्मा भारतमाथिको निर्भरता बढेको तस्बिर देखाएको छ ।

आफ्नो चार वर्षे सेवाकाल सम्पन्न गरेर बिदाइ भएको करिब ११ महिनापछि सोही जिम्मेवारीमा फर्कनुभएका घिसिङले प्राधिकरणको खस्कँदो स्थितिको जिम्मेवार कोरोना महामारी भएको औँल्याउनुभयो । एकतिर आफ्नै नयाँ आयोजना उल्लेख्य रूपमा थप हुन नसक्नु तथा भएका आयोजनाको उत्पादन क्षमता ह्रास हुँदा भारततर्फबाट आयात बढाउन पर्दा प्राधिकरणले नोक्सानी बेहोर्नु परेको देखिएको छ ।