राजु सिलवाल
काठमाडौँ, १० माघ(रासस): नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको केही वर्ष भइसकेको भएता पनि अझै कतैकतै कबड्डीलाई राष्ट्रिय खेल भनि चर्चा गर्ने गरिएको सुनिने गरिएको छ । नेपालमा कबड्डी खेल्नेको सङ्ख्या कम छैन । धेरैले स्कूल पढदादेखि नै कबड्डीको खेलको अनुभव हासिल गरेका हुन्छन् । नेपालका तराई क्षेत्रका साथै मध्यपश्चिम र सुदूरपश्चिममा कबड्डी खेल्नेको सङ्ख्या अत्यधिक भएता पनि यो खेलले कहिल्यै प्राथमिकता पाउन सकेन । सधँैं ओझेलमा पर्दै आएको कबड्डी खेलमा पहिलोपटक सहभागी सबै खेलाडीले पारिश्रमिक लिएर खेल्ने अवसर पाएका छन् । नेपालमा खेलिने गरिएको खेलहरुमध्ये पुरानो खेल भएता पनि कबड्डी खेलको पहिलोपटक व्यवसायिक अभ्यास हुने भएको छ । राष्ट्रिय खेलको रुपमा आधिकारिक मान्यता पाउन नसकेको कबड्डीको नेपाल लिग हुने भएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट नेपालमा व्यवसायिक खेलको विकासका लागि महत्वपूर्ण प्रतियोगिता साबित हुँदै समाप्त भएलगत्तै कबड्डी खेलमा पनि व्यवसायिक अभ्यासको अध्याय प्रारभ्म हुँदैछ । नेपालमा फेन्चाइज प्रतियोगिता क्रिकेट, फुटबल र भलिबलपछि नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो संस्करण यही माघ ४ गतेदेखि माघ १८ गतेसम्म काठमाडौँमा डबल राउण्ड रोबिनको आधारमा सञ्चालन भइरहेको छ । एनपिएल क्रिकेटमा जस्तै कबड्डीको प्रतियोगितामा सहभागी हुने विभिन्न शहरका छ टिमका लागि नेपालमा स्थापित भएका खेलाडीहरुलाई मार्की खेलाडीका रुपमा छनोट गरिएको थियो । प्रतियोगितामा नेपालमा विभिन्न ६ वटा शहरहरुको प्रतिनिधित्व गर्दै विराटनगर ब्यान्डिटस, जनकपुर नाईटस, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेड्डर्स तथा धनगढी वाईल्ड टिम सहभागी हुदैछन् ।
प्रत्येक टिममा १४ जना खेलाडी रहेका छन् । सबै टिमले बढीमा चार जनासम्म विदेशी खेलाडी खेलाउन पाउने छन् । ती टिमहरुका लागि ड्राफ्टद्वारा कूल १२० जना नेपाली खेलाडीमध्ये ८४ जनालाई छनोट गरिएको थियो । यसपालि विभिन्न मुलुकका २५ खेलाडीमध्ये १८ जना छनोटमा परेर एनकेएल खेल्दैछन् । यसमा बंगलादेश, केन्या, श्रीलङ्का तथा थाइल्याण्डलगायतका खेलाडी छन् । विभिन्न टिममा नेपालीसहित भारतीय प्रशिक्षक संलग्न भएका छन् । यसमध्ये एक मात्र नेपाली महिला प्रशिक्षक पार्वती राई पनि छिन् । उनकै प्रशिक्षणमा गत १९औँ एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले कास्य पदक प्राप्त गरेको थियो । नेपालको खेलकुद विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहदैं आइरहेको छ । कबड्डी खेलको विकास र विस्तार एवं व्यावसायिकतातर्फ अगाडि लैजानेकार्यका लागि एनकेएल प्रतियोगिता उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।
पहिलोपटक पारिश्रमिक
एनेएल प्रतियोगिताले कबड्डी खेलेर पनि नेपालमा आत्मनिर्भर बन्न सकिने सन्देश दिन खोजेको छ । प्रतियोगितामा खेलिरहेका सबै खेलाडीलाई उनीहरु आबद्ध क्लबहरुले पारिश्रमिक प्रदान गर्दैछन् । नेपालमा कबड्डी खेलाडीहरुले खेल्नकै लागि पारिश्रमिक पाएको यो पहिलोपटक हो । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीजस्ता विभागीय टोलीमा आबद्ध खेलाडीबाहेक अन्य कबड्डी खेलाडीले यसअघि विदेशमा प्रतियोगिता खेल्न जाँदा पाएको सीमित दैनिक भत्ताबाहेक कहिल्यै पारिश्रमिक पाएका थिएनन् । खेलाडीहरुलाई उनीहरुको खेल क्षमताको आधारमा ए, बि र सी श्रेणीमा विभाजन गरी पारिश्रमिक निर्धारण गरिएको छ । खेलमा पहिचान बनाइसकेका महत्वपूर्ण खेलाडीहरुलाई मार्की खेलाडीका रुपमा अन्य खेलाडीलाई भन्दा बढी पारिश्रमिक दिइएको छ ।
व्यापारिक क्षेत्रको झुकाव
एनकेएल प्रतियोगिताको आयोजना निजी क्षेत्रको एस्ट्रोनेक्स म्यानेजमेण्टले गरेको हो । प्रतियोगिता आयोजनाका लागि आयोजकले करिब रु तीन करोड खर्च गरेका छन् । बेगानीले यो प्रतियोगिताको आयोजना गर्दा तत्काल लाभभन्दा पनि कबड्डी खेललाई व्यावसायिक रुपमा अघि बढाउने लक्ष्य राखिएको छ । प्रतियोगिता आयोजना गर्न अखिल नेपाल कबड्डी संघसँग आगामी १० वर्षका लागि सम्झौता गरिएको छ ।
प्रतियोगितामा सहभागी हुने छ वटै टिम नेपालका कर्पोरेट हाउसले किनेका छन् । प्रत्येक टिमले ५० लाख रुपैंयाँभन्दा बढी खर्च गरेको जनाइएको छ । सहभागी सबै खेलाडीका साथै प्रशिक्षकलाई केही दिनदेखि काठमाडौँमा विभिन्न होटलमा राखिएको छ । उनीहरुका लागि सम्पूर्ण सामग्रीको व्यवस्था टिमका तर्फबाट ब्यहोरिएको छ । प्रतियोगिताका प्रारम्भिक वर्षमा केही लाभ हुनसक्ने अवस्था देखिदैंन् । तर त्यसपछि हुने आर्थिक लाभ तथा प्रतियोगिता सफलतापछिको सन्तुष्टि महत्वपूर्ण मानिएको छ ।
विदेशीसँग सिक्ने अवसर
यो प्रतिगितामा नेपाली तथा विदेशी खेलाडीले एउटै टिममा रहेर खेल्दैछन् । यसबाट नेपाली खेलाडीहरुले नयाँनयाँ शैली सिक्ने अवसर पाउने छन् । विभिन्न देशबाट आएका अनुभवी खेलाडीहरुसंँग एउटै टिममा बसेर खेल्न पाउनु नेपाली खेलाडीहरुका लागि महत्वपूर्ण मौका हो । यसबाट भविश्यमा नेपाली खेलाडीलाई पनि विदेशी टिममा खेल्न जाने अवसरको ढोका खोलिने अपेक्षा गर्न सकिन्छ । प्रत्येक टिममा रहेका चार जना विदेश खेलाडीसँगको सहकार्यबाट नेपाली खेलाडीहरुले नयाँ सीप सिक्ने छन् । जसले आगामी दिनमा नेपालको कबड्डी टिमलाई बलियो बनाउनुका साथै स्वयम आफू पनि व्यावसायिक खेलाडीका रुपमा अन्तर्राष्ट्रिय टिममा प्रवेश पाउन लागि यो उपयुक्त मार्ग बन्न सक्नेछ । भारतबाट आएका प्रशिक्षक तथा प्राविधिक अधिकारीहरुबाट पनि नेपाली प्रशिक्षक तथा अन्य प्राविधिकले नयाँ ज्ञान तथा सीप सिक्न सक्नेछन् ।
विदेशी टिमका अनुभवी नेपाली
नेपाली राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान घनश्याम रोका मगर काठमाडौंँ माभरिक्स टिमका तर्फबाट एनकेएलमा खेल्दैछन् । उनले विदेशी टिमबाट समेत खेलेर व्यवसायिक अनुभव हासिल गरेका छन् । केही समयअघि उनले भारतको पुनामा आयोजित प्रो कबड्डी लिगमा दोस्रोपटक भारतीय टिमका तर्फबाट खेलेका थिए । यसपटक उनि सम्मिलित हरियाणा स्टिलर्स टिम प्रतियोगितामा सर्वप्रथम भएको थियो । गतवर्ष उक्त टिमले दोस्रो स्थान प्राप्त गरेको थियो ।
नेपालको तर्फबाट उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै चौंथो बंगबन्धु कबड्डी च्याम्पियनसीपमा उत्कृष्ठ खेलाडी पुरस्कार पाएका थिए । उनी सम्मिलित टिमलेने जुनियर वल्र्डकप च्याम्पियनसीपमा तेस्रो स्थान प्राप्त गरेको थियो । यस्तै अन्य उत्कृष्ठ खेलाडीहरुको खेल एनकेएलमा हेर्न पाइनेछ । विराटनगर टिममा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा राजु टमाटा र पोखरा टिममा प्रदिप मिझारजस्ता अनुभवी खेलाडीहरु मार्की खेलाडीका रुपमा सम्मिलित भएका छन् ।
टेलिभिजनबाट प्रत्यक्ष प्रसारण
भारतमा क्रिकेटको इण्डियन प्रिमियर लिग आइपिएलपछि दर्शकहरुले सबैभन्दा बढी हेर्ने खेलमा प्रो कबड्डी लिग परेको छ । नेपालमा पनि टेलिभिजन तथा सामाजिक सन्जालमार्फत हुने प्रत्यक्ष प्रसारणले नेपाली दर्शकहरुको सङ्ख्या बढाउने अनुमान आयोजकहरुको गरेका छन् । यसले गर्दा कबड्डीको लोकप्रियता आगामी दिन बढन लाने अपेक्षा गर्न सकिन्छ । कबड्डीको प्रतियोगिता हेर्नका लागि पनि दर्शकहरुले धेरै समय खर्च गर्नु पर्दैन । एउटा खेलको कूल अबधि ४० मिनेटको हुनेछ ।
स्थायी संरचना बन्दै
यसपालि एनकेएल प्रतियोगिताको नारा ‘माटोदेखि मैदानसम्म’ तय गरिएको छ । नेपालले कबड्डी खेलाडीहरुलाई एशियाली खेलकुद, दक्षिण एशियाली खेलकुदलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आइरहेको भएता पनि हालसम्म पनि कबड्डी खेल अभ्यासका लागि आफ्नै खेल मैदान तथा कभर्ड हलको व्यवस्था हुन सकेको छैन । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ स्पोर्टस कम्लेक्समा रहेको कभर्ड हलमा बिहानदेखि विभिन्न खेलका अभ्यास हुने भएकाले खेल अभ्यासका लागि खेलाडीहरुले कुर्नुपर्ने बाध्यता रहेको छ ।
यसैबीच नेपाल कबड्डी संघद्वारा कागेश्वरी मनहरा नगरपालिकामा कबड्डी ग्राउण्ड निर्माण कार्य शुरु गरिएको छ । काठमाडौंमा कबड्डी खेल्नका लागि मैदानको अभाव भैरहेको स्थितिलाई समाधान गर्ने यो ग्राउण्ड निर्माण गर्न लागिएको हो । कबड्डीका लागि स्थायी संरचना बनाउने लक्ष्य राखिएको संघले जनाएको छ । एनकेएल प्रतियोगिताको उदघाटनका दिन दर्शक रङ्गशालास्थित कभर्डहलमा लेजर सोका साथै विभिन्न रंङ्गीचङ्गी साङ्गितिक कार्यक्रम पनि आयोजना गरिने भएको छ । प्रतियोगिता अवधिभर आयोजना हुने कूल १९ वटै खेलको एकैपटक टिकट किन्न सकिने व्यवस्था गरिएको छ । पुरुषहरुको कबड्डी लिगपछि महिलाहरुको लिग आयोजना गरिने लक्ष्य राखिएको छ ।
नेपालले एशियाली खेलकुद, दक्षिण एशियाली खेलकुदजस्ता महत्वपूर्ण प्रतियोगितामा पदक भित्र्याउन सक्ने सम्भावित खेलका रुपमा कबड्डीलाई अग्रपङ्तिमा राख्न सकिन्छ । तर सरकारले यो खेललाई उच्च प्राथमिकता दिदैं खेलप्रतिको आकर्षण बढाउँदै लैजाने वातावरण बनाउनु पर्दछ । अहिले नेपाली युवाहरु अवसरको खोजीमा विदेशतर्फ आकर्षित भैरहेको अवस्थामा नेपालमा खेलेर पनि जीवनयापन गर्न सकिने अवस्था निर्माणका लागि नेपाल कबड्डी प्रिमियर लिग एनपिएलजस्ता प्रतियोगिता उपयुक्त पहल हुने अपेक्षा गरिएको छ । (लेखक खेल पत्रकार हुनुहुन्छ)
–––