भदौ ४, २०७८ शुक्रबार

एजेन्सी । जर्मन बुन्डेसलिगा च्याम्पियन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्लब छाड्ने संकेत गरेका छन् । बायर्नबाट सबै खाले उपाधि जितिसकेका लेवान्डोस्की अब नयाँ चुनौती स्वीकार्न तयार रहेको भन्दै उनले क्लब छाड्ने संकेत गरेका हुन् ।

म खुल्ला विचारको हुँ । मलाई बायर्न धेरै राम्रो लाग्छ । शहर पनि उत्कृष्ट छ, यो एक उत्कृष्ट क्लब हो । नयाँ भाषा, नयाँ संस्कृति सिक्न समेत इच्छुक हुन्छु । तर यो फुटबलमा हुनेछ वा मेरो करिअर पछाडि, मलाई पनि थाहा छैन । उनले भने

बायर्नलाई लगातार नवौं सिजन जर्मन बुन्डेसलिगाको उपाधि जिताएका उनले एकै सिजन बायर्नमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् । उनले यो सिजन कुल ४१ गोल गर्दै ४७ वर्षअघि अर्थात १९७१–७२ मा यसै साता निधन भएका गर्ड मुलरले राखेको ४० गोलको कीर्तिमानलाई भंग गरेका थिए ।

उनी सन् २०१४ देखि बायर्नमा रहेका छन् । त्यसअघि उनी २०१० देखि २०१४ सम्म अर्को जर्मन क्लब बोरुसिया डर्टमुन्डमा रहेका थिए । लेवान्डोस्कीले बायर्नबाट कुल ३२९ खेलमा २९४ गोल गरिसकेका छन् । उनले गत सिजन बायर्नबाट ४० खेलबाट ४८ गोल गरेका थिए ।

पछिल्लो दुई सिजन बायर्न र युरोपियन क्लब फुटबलकै सर्वाधिक गोलकर्ता रहेका लेवान्डोस्कीले ११ मध्ये ९ जर्मन बुन्डेसलिगाको उपाधि जितेका छन् । ३२ वर्षीय लेवान्डोस्कीले शनिबार ३३ वर्ष लाग्दैछन् । बायर्नमा उनको सम्झौता २०२३ सम्म रहेको छ । तर, यो पुस्ताको सर्वाधिक सफल फरवार्डले बायर्न छाडेपछि उनको सम्भावित गन्तव्यबारे निकै चर्चा गरिएको छ । अब उनी स्पेनीस ला लिगा फुटबल क्लब रियल म्याड्रिड , इंग्लिस क्लब म्यान्चेसटर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्टर जर्मन पिएसजी जाने सम्भावना रहेको छ ।