माघ २९, २०८१ मंगलबार

    बेइजिङ, २९ माघ: जलवायु तनाव र सामाजिक अशान्तिबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै हजारौँ वर्षको वर्षाको ढाँचा पछ्याउने एक अध्ययनले सुक्खा अवधिहरू चीनमा वंशवादी उथलपुथलको युगहरूसँग मिल्दोजुल्दो पाएको छ ।     
     
 एक अनुमान अनुसार गत वर्ष विश्वव्यापी र चीन दुवैमा सबैभन्दा तातो वर्ष रेकर्ड गरियो । चरम मौसमी घटनाहरूले विश्वभर विनाश मच्चाए र प्राकृतिक प्रकोपहरूले तीन खर्ब १० अर्ब डलरको आर्थिक क्षति पुर्याएको थियो ।     
     
 तिब्बती पठारमा किलियन जुनिपर रूखहरूको घेरा विश्लेषणको आधारमा यस महिना प्रकाशित अनुसन्धानले जलवायु तनावले कसरी समाज र शक्तिलाई हजारौँ वर्षअघि परिवर्तन गरेको थियो भन्ने बारे झलक प्रस्तुत गर्दछ।     
     
 “विश्वव्यापी जलवायु परिवर्तनबारे बढ्दो चिन्ताहरूलाई ध्यानमा राख्दा ऐतिहासिक र वर्तमान दुवै ‘हाइड्रोक्लाइमेट’ मा परिवर्तनहरू बुझ्न महत्त्वपूर्ण छ”, अनुसन्धानकर्ताहरूले प्रतिष्ठित नेचर जर्नलमा प्रकाशित प्रतिवेदनमा लेखेका छन् ।     
     
 रुखका घेराहरूमा भएका आइसोटोपहरू –– विशिष्ट गुणहरू भएका रासायनिक तत्वका रूपहरू –– को परिवर्तनलाई समय–समयमा वर्षाको विविधता बुझ्न प्रयोग गर्न सकिन्छ ।     
     
 यसले चिनियाँ एकेडेमी अफ साइन्सेजका धेरै अनुसन्धानकर्ताहरूलाई विगत तीन हजार चार सय ७६ वर्षको जलवायु रेकर्डको पुनर्निर्माण गर्न सक्षम बनायो ।     
     
 “हाम्रो जल–जलवायु पुनर्निर्माणले लामो आद्र्र अवधिपछि दीर्घकालीन वर्षा घट्ने तीन विशिष्ट चरणसहित धेरै चिनियाँ राजवंशको उदय र पतन सुक्खा अवस्थातर्फको महत्त्वपूर्ण परिवर्तनको समयसँग मेल खान्छ भन्ने सङ्केत गर्दछ”, प्रतिवेदनमा भनिएको छ ।     
     
 ईसापूर्व ११० देखि ईस्वी २८० सम्म चलेको पहिलो सुक्खा चरणमा छोटो अवधिको जिन राजवंश स्थापना भयो र त्यसपछि द्रुत गतिमा पतन भयो ।     
     
 “ईस्वी १४ पछि जलवायु सुक्खा भएपछि अनिकाल र नरभक्षणका घटनाहरू बढे, जसले व्यापक विद्रोह निम्त्यायो र अन्ततः राजवंशको पतनमा परिणत भयो”, प्रतिवेदनले भन्यो ।     
     
 प्रतिवेदनअनुसार यो सुक्खा अवधि तीन राज्य कालको युद्धहरूसँग मिल्दोजुल्दो थियो र यसले गर्दा सुक्खाका कारण निम्त्याएको व्यापक अनिकालसँगै चीनको जनसङ्ख्या छ करोडबाट घटेर तीन करोड हुन पुग्यो ।     
     
 दोस्रो चरण ईस्वी ३३० र ७७० बीचको थियो । यसमा तुयुहुन, सुई र ताङ राजवंशहरू पर्छन् ।     
     
 ईस्वी ९५० देखि १३०० सम्मको तेस्रो चरण सोङ राजवंश र यसको पतनसँग मेल खान्छ ।     
     
 “प्रत्येक राजवंशको प्रारम्भिक चरणहरूमा आद्र्र अवस्थाहरू समृद्धिको अवधिसँग सम्बन्धित थिए भने सुक्खातर्फको क्रमिक परिवर्तन लगातार तिनीहरूको गिरावट र अन्ततः पतनसँग मेल खान्थ्यो”, प्रतिवेदनले भनेको छ ।