एजेन्सी । भारतसँगको सीमा क्षेत्रमा चीनले ५ सयवटा नमूना गाउँ बनाएको छ । चीनले सिक्किमनजिकैसम्म २०१७ देखि निर्माण सुरु गरेर फराकिलो सडक र पक्की संरचना निर्माण गरिसकेको छ ।
चीनले यी गाउँको आडमा बङ्करहरू बनाइरहेको भारतीय पक्षले दाबी गरेको छ । चीनले सीमासम्म सडक पनि बनाएको छ । सिक्किममा चीन, भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्र डेकलाममा भएको फेस अफपछि भारत र चीनको सेनाबीच झडप पनि जारी छ । ६ महिना पहिलेसम्म दुई देशका सेनाबीच कैयौं पटक झडप भएको छ ।
सेनाले भने यसबारेमा धेरै जानकारी दिएको छैन । डोकलाम फेसअफपछि नै चीनले सिक्किम सीमानजिक तिब्बतमा शक्ति बढाउन सुरु गरेको छ । भारतीय सेनाको सूत्रका अनुसार चीनसँग तनावको सुरुवात सिक्किमको नकुलाबाट भएको थियो । त्यसपछि डोकलाममा र पछि गलवानमा झडप भयो ।
चीनले भारतीय सीमामा तिब्बती मूलका सैनिक तैनाथ गर्न पनि सुरु गरेको छ । यहाँको उचाइमा युद्ध गर्नका लागि चिनियाँहरू भन्दा तिब्बतीहरू दक्ष हुने भएकाले चीनले तिब्बतीहरूको भर्ती पनि बढाइरहेको छ । बनाइएका नमूना गाउँमा तिब्बती मूलका जनतालाई बसाउने भनिएको छ । भारतले भने यहाँ बसाइने तिब्बतीहरू सैनिक हुने दाबी गरेको छ ।