पशुपतिनाथ मन्दिर र त्यस क्षेत्रको व्यवस्थापन एवं सञ्चालन जिम्मेवारी पाएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले विद्युतीय शवदाह मेसिन खरिद र मूर्ति मर्मतलगायतमा कमिसन खाएको पाइएको छ।
धार्मिक अभियन्ताहरू पशुपतिनाथ मन्दिरलाई प्राप्त हुने धनको दुरूपयोग गर्नु जघन्य पाप मान्छन्। कोषका पदाधिकारीहरूले विद्युतीय शवदाह मेसिन खरिदका क्रममा परेका तीनवटा बोलपत्र विनाकारण रद्द गरेर दोस्रो पटक आह्वान गरेका छन्। दोस्रो पटक एउटामात्र कम्पनीबाट बोलपत्र प्राप्त भएको देखाएर उसैसँग खरिद सम्झौता गरिएको छ।
यसो गर्नुका पछाडि अनियमितताको मेलो रहेको देखिन्छ। स्थानीय बजार मूल्य, अन्तरराष्ट्रिय बजार मूल्य र उत्पादक कम्पनीबाट खरिद गर्दा प्राप्त हुने मूल्यको खोजी नगरी एकैपटक खरिद सम्झौता गरिएको छ। यसमा अनियमितता भएको जनाउँदै महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा दोषीमाथि कारबाही सिफारिस गरिएको छ। बोलपत्र भइसकेको र मूल्यांंकन प्रक्रियामा रहेको अवस्थामा बोलपत्र रद्द गर्न नमिल्नेमा रद्द गरिएको प्रतिवेदनमा उल्लेख छ।