विना जानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन नेपाल विद्युत् प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने जनाएको छ ।
प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरू, प्रदेश डिभिजन कार्यालयहरू र शाखाका प्रमुखहरूसँग भर्जुअल बैठक राखी कार्यालयहरूले बेहोरिरहेका समस्याहरूका बारेमा छलफल गरी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिएका छन् ।