भदौ ७, २०७८ सोमबार

एजेन्सी । आगामी बर्ष २०२२ मा कतामा आयोजना हुने विश्वकप छनौट खेल्ने अर्जेन्टिनाले ३० सदस्यीय टोली घोषणा गरेको छ । सोमबार मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटतर्फको खेल खेल्ने टोली घोषणा गरेका हुन् ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का एन्जल डी मारिया र लियन्द्रो पेरेडेस, इन्टर मिलानका लाउटारो मार्टिनेज, युभेन्टसका पाउलो डिब्बाला र एथ्लेटिको मड्रिडका रोड्रिगो डी पल पनि समावेश छन् ।

विश्वकपको छनोटअन्तर्गत अर्जेन्टिनाले तीन राष्ट्रसँग खेल्ने छन् । अर्जेन्टिनाले भेनेज्वला, ब्राजिल र बोलिभियासँग खेल्ने तालिका छ । अर्जेन्टिनाले ३ सेप्टेम्बरमा भेनेज्वलासँग खेल्नेछ भने ५ सेप्टेम्बरमा ब्राजिलको सामना गर्नेछ । यस्तै, १० सेप्टेम्बरमा बोलिभियासँग खेल्नेछ । विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ अर्जेन्टिना १२ अङ्कका साथ दोस्रो स्थानमा छ ।

उसले ६ खेल खेलेको छ । शीर्ष स्थानमा रहेको ब्राजिलसँग १८ अङ्क छ । ब्राजिल अपराजित रहेको छ ।