भदौ १०, २०७८ बिहिबार

नारायण घिमिरे - भागवत गीताको अध्याय-२, पद ४८ मा  श्रीकृष्णको एउटा महत्त्वपूर्ण वाणी भेटिन्छ। कर्म गर, तर फलको आशा नगर। आफैलाई तत्काल कुनै निश्चित फाइदा प्राप्त हुने अपेक्षा त्यागेर तपाई आफ्नो तत्कालीन कर्तव्यहरू पूरा गर्दै अघि बढ्नुहोस् भन्ने नै यसको मूल भावार्थ हो। पुरै होस-हवासमा आफ्नो दिमागको पुर्णरुपमा सन्तुलित उपयोग गर्दै आफ्नो कर्तव्यमा नियमित रुपमा लिन हुनु लाई  गीतामा त्यागको भावनाको चिनारीको रूपमा प्रस्तुत गरिएको भेटिन्छ। “कर्म” शब्द सुन्ने बित्तिकै मानिसले सामान्य रूपमा लिने अर्थ सबैमा अवगत नै छ। यसको आध्यात्मिक अवधारणा बारे अलिकति गहिरिएर हेर्दा तपाईँ फरक निचोडमा पुग्न सक्ने अवस्थामा पुग्नु हुनेछ। जीवनमा आइपर्ने केही महत्त्वपूर्ण विषयमा निर्णय लिनु पर्दा उक्त वैज्ञानिक रूपमा समेत प्रमाणित बनेका केही आध्यात्मिक अवधारणाहरू तपाईको लागि मुल्यवान बन्न सक्दछ।

पहिलो कुरा कर्म भनेको कुनै पनि बस्तु वा सेवा वा पैसा जस्तो अन्य वस्तु वा सेवा सँग आदान प्रदान गरिने विषय होइन। तपाईँका असल कार्यहरूले तपाईँको जीवनको गुणस्तरमा कसरि असर पारिरहेको हुन्छ र यसमा तपाइको भाग्यले कसरि काम गरिरहेको हुन्छ भन्ने यथार्थ अत्यन्त सूक्ष्म, धेरै जटिल, र अधिक धेरै अर्थपूर्ण रहेको छ। यो अवधारणा केवल मानिसमा मात्र हैन हाम्रो वातावरण वरिपरि रहेको सम्पूर्ण जीव जन्तुमा समेत लागु हुन्छ।

 

हाम्रा वरिपरि रहेका बोट-बिरुवाहरू, जनावरहरू, पानी, हावा, आगो र अन्य तत्त्वहरू हरेकका आफ्नै कर्महरू हुने गर्दछन्। सबै तत्त्वहरू मिलेर संयोजित रूपमा गर्ने समग्र कर्मको सहकार्यले हाम्रो वातावरणको निर्माण भईरहेको हुन्छ। जस्तै: सहकार्यमा सम्पादन भएका कर्मका फलका रूपमा फूलहरू फुल्न पाउँछन्। चराहरू गाउने वातावरण बन्छ। तपाई आफ्नो नजिकको आफ्नै लाई मेरी प्रिय वा प्यारे भनी पूर्ण सुरक्षित वातावरणको सदुपयोग गर्दै मायालु नजरले सम्मोहित भएर हेर्न, भावना साटासाट गर्न र लाडिन पाउनु हुन्छ। तपाइको जीवनको हरेक पाइला सामान्य लाग्ने गरी असामान्य र रोमाञ्चकता पूर्ण बनी दिन्छ। जीवन जिउनुको सार अनुभूति गर्ने अवसर मिल्दछ। सजिलोको लागि कर्मलाई तीन प्रकारको कर्ममा विभाजन गरेर व्याख्या गर्न सकिन्छ।

 

पहिलो हो तत्कालको क्षणिक फलदिने कर्म। कर्म शब्दको मुख्य अर्थको रूपमा हामीले प्राय: बुझ्ने कर्म तत्कालको कर्म हो। तपाइका आफ्नै निश्चित उद्देश्य वा लक्ष पूर्ति गर्ने आशयले प्रेरित रहेका नियोजित कार्यहरू जसको फल स्वरूप तपाईँ निश्चित परिणामहरूको आशा गरिरहनु भएको हुन्छ। यो जरुरी छैन कि ती अबिलाशाहरु पुरा हुन्छन्। तर उक्त कार्यहरू बापत कार्य गरिरहेकै समय आसपास तपाइले प्रतिक्रियाहरूको महसुस गरिरहनु भएको हुन्छ। सम्भवतः परिणामको समेत तत्काल वा छोटो समय भित्रै महसुस गर्न पाउने सम्भावना देख्नु हुन्छ।

 

तत्कालको कर्म अन्तर्गत तुलनात्मक रूपमा नियोजित कर्म गर्ने नगर्ने वा कसरि गर्ने आदि सम्बन्धका तपाई सँग केही विकल्पहरू रहने गर्दछ। विकल्पहरूमा तपाईँको आंशिक वा पूर्ण नियन्त्रण  रहने स्थिति रहन्छ। जस्तै: तपाई आफ्नो बलेँसीको सुर्कामा तुलसीको बिउ छर्दै हुनुहुन्छ। केही महिनामा तुलसीको बोट उम्रिएको र त्यही तुलसीको बोट आँगनको मठमा सार्ने क्रममा सारिएको तुलसी सहितको मठलाई साक्षी राखी आफ्नो प्रेमी रिडी-रुद्रवेणीकि भक्तिनी भनेर चर्चित कार्किनी आमा कि कान्छी छोरी रुसबिना सँगै विवाहको प्रस्ताव राख्दा रुसबिनाले प्रस्ताव स्वीकारेको कल्पना गर्नुहुन्छ।

 

यहाँ तपाइको कर्म तुलसी छर्ने हो। तपाइको नियत इश्वोरमाथि धेरै भरोसा गर्ने तपाइको प्रेमी रुसबिनालाई गरिने प्रेम प्रस्तावको साथी आफ्नै दैलामा रहेको तुलसीलाई बनाउनु रहेको छ। प्रस्ताव रुसबिनाले औपचारिक मात्र नभएर मनै देखिको इमानदार प्रस्ताव सम्झिएर स्विकारुन् भन्ने तपाइको उद्देश्य छ। भित्री चुरो आशय तुलसीलाई इश्वोरको रूप मान्ने रुसबिना तुलसीको बोटको उपस्थितिमा हुने प्रस्ताव लाई इश्वोरकै इच्छा मानी स्विकार्ने छिन्। इश्वोरको अघि गरिएको वाचा पछि परिवर्तन हुने छैन भन्ने रहेको छ।

 

तपाइ तुलसीको मोठ  छेउको बलेँसीको सुर्कामा तुलसीको गेडा छर्नु हुन्छ भने पक्कै तुलसी नै उम्रने आशा गर्न सकिन्छ। सम्भवतः महिना दिनमा तुलसी उम्रिएको पनि देख्न पाइने छ। त्यहाँ कण्टकारी रोप्नु भयो भने कण्टकारी नै उम्रिने छ। जहाँ सम्म तुलसी रोप्ने सुर्कामा रोपेको तुलसी उम्रने कुरा छ, त्यो तटस्थ छ। हरेक साल तुलसी रोपिने सुर्कामा अन्य साल जस्तै यो साल पनि पक्कै उम्रने छ भनी भरोसा राख्न सकिन्छ।

 

तपाईँ के रोप्नुहुन्छ, कसरि त्यसको स्याहार सुसार गर्नु हुन्छ त्यो तपाईँ माथि निर्भर गर्दछ। तपाइको गतिविधिले तुलसीमा पार्ने सकारात्मक वा नकारात्मक असरमा तपाइको आंशिक नियन्त्रण छ। रोपेको बिउ उम्रन्छ वा उम्रदैन जस्ता पक्ष तपाइको नियन्त्रण बाहिर छ। तर मकै भुटे जस्तो तुलसीको बिउँ पहिला भुट्नु हुन्छ र रोप्नु हुन्छ भने पक्कै त्यो भुटेको तुलसीको गेडा भने उम्रने छैन।

 

यहाँ तपाइले गरेको तत्कालको कर्म तुलसी छर्ने रहेको छ। तत्काल आशा गरिएको प्रतिफलहरुमा छरेको तुलसी उम्रन पर्‍यो। हलक्क बढे पछिको शुभ-मुहूर्तमा रुसबिना तपाइको दैला अगाडी आई-पुग्नु पर्‍यो। उनी खुसी अवस्थामा रहेको हुनु पर्‍यो। प्रस्ताव गर्ने मौका मिल्नु पर्‍यो। उनले स्विकार्नु पर्‍यो। स्वीकारे पछि उनको घर, आफन्त र तपाइको पक्षको पनि सहमति चाहिने होला। सो नभए पनि कम्तीमा दुवै एक हुने निश्चयमा पुग्नु पर्‍यो। सोचिएको फलको वास्तविक प्राप्तिको लागि भने यस्ता धेरै कुरा मिल्नु पर्ने होला। थोरै पक्ष तपाइको नियन्त्रणमा रहला। धेरै पक्ष भने निश्चय नै तपाइको नियन्त्रण भित्रको पक्कै रहने छैन।

 

कर्मको दोस्रो प्रकारमा सञ्चित कर्मलाई लिने गरिन्छ। यो पहिले नै बीजको रूपमा रहने कर्मको रूपमा रहन्छ। यसको फल अहिले सम्म तपाइले फलाउन वा महसुस गर्न सक्नु भएको छैन। मतलब त्यहाँ उपस्थित छ। त्यो तपाइको चाहना वा इच्छा अनुकूल वा प्रतिकुल जे सुकै पनि हुन सक्छ। तर तपाईँले यसलाई हाल सम्म अनुभव गर्न पाउनु भएको छैन। सञ्चित कर्मको सबै फल जीवनकालमा एकै चोटि  आउने वा महसुस गर्ने प्रकृतिको रहँदैन।

 

निर्जला एकादशी भनिने ज्येष्ठ शुक्ल एकादशीमा तपाइले छर्दै गर्नु भएको तुलसीको बीउको बिरुवा परम्परागत मान्यता अनुरूप देवशयनी एकादशी भनिने हरिशयनी एकादशीका दिन तुलसीको मोठमा रोप्ने तपाइको औपचारिक योजना छ। तुलसी रोप्ने दिन देखि चार महिना चतुर्मास अवधि आरम्भ हुन्छ। धार्मिक एवं ज्योतिषी मान्यताका आधारमा चतुर्मास भर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता माङ्गलिक कार्य गर्नु हुँदैन। यो अवधिभर तुलसीको पूजा गर्ने, भागवत आदि विष्णु माहात्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा छ। यद्यपि सूर्य दक्षिणायन रहँदा सामान्यतया माङ्गलिक कार्य गरिँदैनन् तर आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णुको प्रियाको रूपमा पूजा गर्ने परम्परा छ।

 

रुसबिना तपाई कि भाउजू निर्जलाको फुपूकी मामा कि नातिनी हुन्। हरिशयनी एकादशीमा जन्मिएकाले इश्वोरले निर्जला एकादशीमा बिउ राखेकी अप्सरा ठानी तपाइको भाउजू कि हजुरआमाले तपाइको भाउजूको नाम निर्जला राखिईन । रुसबिनाको आमा लाई दुःख पर्दा निर्जलाको हजुरबुबाले लगाएको गुणका कारण तपाईँको भाउजूको जन्म दिन  हरिशयनी एकादशीमा हरेक वर्ष रुसबिना तपाइको भाउजू लाई भेट्न आउँछिन्। आफ्नो ममीले तपाईँको भाउजूलाई पठाएको कुरौनी छोडेर जाने गर्दछिन्।

 

यो वर्षको देवशयनी एकादशीको दिन तपाईँ भगवान् विष्णुको प्रिया तुलसी र तपाइको प्रिया रुसबिनाको एकै साथ पूजा गर्ने इरादामा हुनुहुन्छ। प्रेम प्रस्ताव माङ्गलिक कार्यमा समावेश हुने औपचारिक आमन्त्रण रहेकाले यो तिथि रुसबिनाले प्रेम प्रस्तावको गर्ने उत्तम तिथि मान्ने छिन भन्ने तपाइको यकिन छ। भाउजू निर्जलाले तपाइको छिमेकी काकी मञ्जु सँग रुसबिनाको बुबाले रुसबिनाको आमा लाई आषाढ शुक्ल एकादशी वा देवशयनी एकादशीमा अर्जुन डाँडामा प्रेम प्रस्ताव गरेको रे भनेको तपाइले सुन्नु भएको थियो।

 

करिब २ हजार मिटर उचाइमा रहेको गुल्मीको एक डाँडामा बसेर पाँच पाण्डव मध्येका अर्जुनले शिवजीले ध्यान गरेर गीताको तत्त्व ज्ञान लिएकोले गुल्मीको लेकमा रहेको डाँडाको नाम अर्जुन डाँडा राखिएको रे। अर्जुन डाँडामा स्वच्छ हृदयले मागेको वरदान पुग्ने जनविश्वास भएकाले रुसबिनाको आमा अर्जुन डाँडामा पूजा गर्न गएको मौका छोपी रुसबिनाको बुबाले हात समातेर मलाई स्वीकार भन्दा अनायास रुसबिनाको आमाले रुसबिनाको बुबालाई अँगालो हाल्न पुगे पछि दुवै बिच विवाह हुने तय भएको रे भनेर भाउजूले भनेको घुइरो-घोइरो रूपमा तपाइले सुन्नु भएको थियो।

 

फलफूलको राजा ठानिने आँप प्राकृतिक रूपमा असार–साउनमा पाक्ने गर्दछ। पाल्पा जिल्लाको गोठादी-५ को तपाइको हात्ती ल्हुङ्ग (हात्ती ढुङ्गा) नामक मगर गाउँमा डल्ले, सिन्दुरे, चिउरी, सबुजा, मालदह, दशहरी, बम्बै र सरिह जातका आँप फल्दछन्। तपाइको करेसाको विशाल कलकतिया आँप तपाइको हजुर बुबाले आफू ३२ वर्षको हुँदा कलकत्ता वाट ल्याएर रोप्नु भएको रे। पुरा पाल्पा जिल्लामै फलेको कलकतिया आँप भएको घर तपाइको घर मात्र हो रे। तपाइको हजुर बुबा बितेको ८ वर्ष पछि मात्र कलकतिया आँप फाल्न सुरु गरेको थियो रे। तपाइको बुबा आँप फलेकै साल फलेको आँप समेत चाख्न नपाइ बित्नु भएछ। अहिले आँपको बोटमा भर्खर चिचिला लागेको छ।

 

हरेक साल भाउजू निर्जलाको जन्म दिन हरिशयनी एकादशी रहेको हप्ता वाट तपाइको घरको आँप पाक्न सुरु गर्दछ। भाउजूको जन्म दिन वाट मात्र पाकेको आँप टिप्न सुरु गरिन्छ। यो तपाइको घरको आफ्नै मौलिक चलन हो। बजारमा व्यापारीले आँप किन्न मागे पनि तपाईँको घरमा आँप बेच्ने चलन छैन। मात्र एक बोट आँप सबै गाउँले लाई चाख्न पुग्छ। तपाइले अत्यन्त मन पराउने रुसबिना तपाइको घरमा फाल्ने कलकतिया आँपको स्वाद भने पछि हुरुक्क हुन्छिन्। हरेक साल तपाइको भाउजू लाई कुरौनी लिएर आउने रुसबिना लाई पेट भर दूधमा मुछेको आँप खुवाएर झोला भरि आँप भरेर आमालाई दिनु भनी रुसबिना सँगै पठाउने गर्दछिन् तपाइकि भाउजू।

 

यो साल तपाई त्यही दिनको प्रतीक्षामा व्यग्र भएर बसिरहनु भएको छ। पहिले तपाइले न त कहिल्यै तुलसी छर्नु भयो। न तपाईलाई धर्म कर्मका यस्ता कुरामा कुनै विश्वास र चाख नै थियो। गत साल मात्रै गाउँ आएका एक साधु लाई तेरो इश्वोर देखा, झुटो बोल्ने, ठगी खाने भनी दुर्व्यवहार गर्नु भएको थियो। पल्ला घरे रातेले नछेकेको भए साधुले तपाइको हातको राम धुलाई भेट्ने थिए।

 

आज तपाइको घर भन्दा तिन गरा तल रहेको सार्वजनिक पिउने पानीको धारा बनाइदिने संस्थाका प्रमुख चन्दा दाता थिए ति साधु। तिनको नाम चक्रवर्ती श्री अमोद रहेको, उनी सर्वाधिक धनी मध्येका  एक चर्चित वैज्ञानिक, युनिभर्सिटी अफ बृक्ले क्यालिफोर्निया, अमेरिकाका रिटायर्ड प्रोफेसर,  वेद र अध्यात्मका गुरु समेत रहेको तपाइले हाल सम्म मेसो पाउन सक्नु भएको छैन। यो साल तपाइको प्यारी रुसबिना लाई प्रेम प्रस्ताव गर्ने क्रममा त्यही धारा वाट अङ्खोरामा सुद्ध जल ल्याएर तुलसी र रुसबिना लाई छर्कने कर्म गरिने र आफ्नो उद्देश्य प्राप्ति गर्ने तपाइको योजना अन्तर्गतको गतिविधिमा परेको छ।

 

तपाईँको कर्मले ब्रह्माण्डमा विभिन्न किसिमका बीउहरू रोप्ने गर्दछ। त्यसको प्रतिफल कुनै तत्काल प्राप्त हुन्छ। कुनै बर्सौँ पछि, कुनै दसौँ वर्ष पछि फसल लाग्ने हुन सक्दछ। कुनै -कुनै पाँच सय वर्ष पछाडि नतिजा दिने वा फसल उपलब्ध गराउने हुन पनि सक्दछ। तपाइको हजुर बुबाको राम्रो कर्मको डोरीले जोडिएको चिन जान र सम्बन्धले एकातर्फ तपाईलाई आफ्नो प्रेयसी सँग भेट गर्ने बहाना दिएको छ । अर्को तर्फ उनलाई खुसी पार्ने फलको रूपमा तपाईलाई आँप उपलब्ध भएको छ।

 

त्यो आँप जुन न त रोप्ने तपाइको हजुर बुबा न स्याहार सुसार गर्ने तपाइको पिताजीले चाख्न पाउनु भयो। तपाइको भाउजूको कर्मले तपाइले तपाइको प्रियका के के अवधारणा छ, पारिवारिक पृष्ठभूमि के छ र के के पूर्वाधारहरू पुरा गर्दा तपाइको आफ्नो उद्देश्य प्राप्ति सहज बन्ने दिसामा अघि बढ्ने धेरै सम्भावना छ भन्ने ज्ञान तपाइलाई सितैमा प्राप्त भईरहेको छ।

 

विगतमा तपाईँ नास्तिक रहेको मात्र नभई आस्तिकहरूको मान्यता आफ्नो मान्यता सँग नमिल्दा दुष्कर्ममा उत्रेको मार्मिक इतिहास रहदा रहँदै समाजको सुभ-कर्मको फलको रूपमा एक सन्न्यासीले बनाई दिएको धाराको पानी तपाइको महत्त्वपूर्ण काममा प्रयोजनमा आउन सम्भव भएको छ। तपाइको विगत जे सुकै होस् तर अन्तिम समयमा आफ्नो मुटुमै बसेकि प्रियतमको प्रिय बस्तुलाई आफ्नो समेत प्रिय बनाउने तपाइको चाहनाको कर्मको प्रभावमा तपाइले आफूमा ल्याउन सक्नु भएको परिवर्तन हेर्दा तपाई कम्तीमा आफ्नो पक्ष वाट आफूले चाहेको सुन्दर र आत्मीय भविष्य तर्फ उन्मुख बनिरहनु आभास दिन्छ।

 

भलै यसको पछाडि विविध पारिवारिक, सामाजिक र वातावरणीय पक्षका कर्महरू रहेको छन्। थिए र हुने छन्। तर तपाइका कर्महरू र तपाइको आसपासको विषय बस्तुको कर्मको संयुक्त फल कुनै दिन पक्कै देखिने छ। मात्र समयको कुरा हो। फलको प्रकृति कस्तो हुने छ त्यो फरक कुरा हो। जुन वास्तवमा तटस्थ रहने गर्दछ। तपाइले टाउको फुटाए पनि नतिजा निष्पक्ष हुनेछ। फल तपाइको चाहना अनुकूल हुन सक्दछ। वा प्रतिकुल पनि हुन सक्दछ। अनुकूलता वा प्रतिकुलता तपाइको पूर्ण नियन्त्रणमा छैन। फल प्राप्तिको अनुभूति मिल्ने अवसर कहिले निश्चय हुने भन्ने समेत टुङ्गो छैन। हुन पनि सक्दैन।

 

कर्मको तेस्रो कर्मको रूपमा तपाईँको भाग्य लाई लिइन्छ। जब कुनै पनि तत्कालको कर्म वा सञ्चित कर्मको फल प्राप्तिको समयमा त्यसको उपभोग गर्न पाउने पात्र  तपाईँ बन्न पाउनु हुन्छ त्यसलाई तपाईँको भाग्यको प्रतीकको रूपमा लिइन्छ। त्यो समयमा तपाई आफ्नो गन्तव्यमा पुग्नु भएको महसुस समेत गर्न सक्नु हुन्छ। तपाईँ कर्मको फल प्राप्त गर्ने भाग्यमानी बनिरहँदा तत्कालको कर्मको फल, सञ्चित कर्मको फल र भाग्य तिनै एक साथ संयोजित रहन जरुरी हुन्छ। एकातर्फ तपाईँका विचारहरू, भावनाहरू, अनुभवहरू, हृदयको बुद्धिमत्ता आदि तपाइको कर्म गर्न चाहने इच्छा पैदा गर्न, त्यसमा नियमित र अडिग रहन जिम्मेवार रहन्छन। अर्को तर्फ एक निश्चित व्यक्ति र प्रवृत्तिको रूपमा तपाईँ आफै र तत्कालीन समयको समग्रताको प्रतिफलको रूपमा तपाइ वरपरको हाल र बिगतका गतिविधिहरु वा वातावरण तपाइले प्राप्त गरिरहेको फलको उपलब्धिको मुख्य कारकहरू वनिरहेका हुन्छन्।

 

कर्मको सामान्य अर्थ हो कार्य। हरेक कार्यको परिणाम हुन्छ। विभिन्न कार्यहरूले विभिन्न परिणामहरू दिने गर्दछन्। विभिन्न परिणामहरूको समग्र प्रभावको रूपमा प्रतिफलको अनुभूति गर्न सकिन्छ। नियमित र सुचारु रूपमा भएका कार्यहरूले दिने विविध प्रतिफलहरूको समग्र रूपलाई मुख्य फल प्राप्ति ठानिन्छ। जुन आफै एक नियमित सुचारु प्रक्रियाको एक पक्ष हो। जुन आफैमा दिगो प्रकृतिको रहन सक्दैन।

 

संस्कृतको आधारभूत परिभाषा अनुसार कर्मको सार-अर्थ “क्रिया” हुन्छ। हाम्रो हरेक क्रिया ऊर्जाको एउटा रूप हो। जब तपाईँ कुनै क्रिया गर्नु हुन्छ तपाईँमा रहेको शक्ति कुनै न कुनै रूपमा अर्को व्यक्ति वा बस्तुमा सर्दछ। त्यसको प्रतिक्रिया बापत केही तपाईँ तर्फ आउला, केही जता सहज हुन्छ उतै तह लाग्छ। अङ्ग्रेजीमा एउटा सामान्य वाक्यांश छ। ह्वाट गोँज अराउन्ड कमस अराउन्ड। अर्थात् तपाइले जस्तो व्यवहार गर्नु हुन्छ, तपाईलाई त्यस्तै प्रतिफल आइलाग्छ।

 

न्युटनको तेस्रो सिद्धान्तले पनि हरेक कार्यको लागि त्यहाँ एक समान तर विपरीत प्रतिक्रिया हुन्छ भनी गीतको सार लाई स्वीकारेको छ। विज्ञानले स्वीकारे अनुरूपको वेदको अवधारणा जब तपाई शारीरिक बलको प्रयोग गर्नु हुन्छ, तब त्यहाँ प्रतिक्रिया उत्पन्न हुन्छ। पैदा भएको शक्ति वा ऊर्जा कही पनि गायब हुन सक्दैन। मात्र एक रूप वाट अर्को रूपमा परिवर्तन भएको हुन्छ।  यो कुरामा अब कुनै बहस हुने गर्दैन। सर्ब-स्वीकार्य बनिसक्यो। किनकि यसलाई विज्ञानले आफ्नो सिधान्त भनेर स्वामित्व लिइसकेको छ। जीवात्माको बल, चेतनाको बल, सोच वा बिचारको बल,  अहङ्कारको बल, प्रेमको बल, घृणाको बल आदि व्यवस्थापनको नियम बारे विज्ञान अझै अत्यन्त ठुलो निराशाजनक चरणमै छ। न फेद, न पुच्छर केही पनि पहिल्याउन नसकेर अलमलिई रहेको छ। जे होस विज्ञानले आज सम्म आफैले पत्ता लगाएको नाममा स्विकार्न बाध्य भएको माथि उल्लेखित दुई वैज्ञानिक सिद्धान्तको प्रतिपादन पश्चात् वैदिक नियमको अवधारणामा विश्वव्यापी सहमति जुटेको मान्न सकिन्छ।

 

सामान्य भाषामा बताउँदा हाम्रो जीवन एउटा निरन्तर सङ्घर्षको गाथा हो। जसरी विगतमा एक राज्यले अर्को राज्य जित्ने उद्देश्यमा ठुला साना धेरै लडाइँहरू हुने गर्दथ्यो।ब्याटल भनिने विभिन्न रणनीतिक आक्रमणहरूमा कहिले सफलता हात लाग्दथ्यो त कहिले असफलता। जसले चातुर्य पूर्वक शक्ति आर्जन गर्दै अर्को राज्य सँग भएका असफल स-साना ब्याटलहरू वाट उठ्दै अघि बढ्न सफल बन्थ्यो, मुख्य मुख्य सामरिक महत्त्वका युद्धहरू आफ्नो पक्षमा पार्न सक्दथ्यो विजयको माला पहिराउने अवसर उसैलाई मिल्दथ्यो। यथार्थमा युद्ध वा वार उसैले जितेको हुन्थ्यो। जितेको राज्य उसैले कब्जा गर्दथ्यो।

 

तपाइको जीवनको मूल उद्देश्य समेत कुनै निश्चित ब्याटल जित्ने प्रकृतिको रहँदैन। अत्यन्त मुल्यवान ब्याटलका नतिजाहरु आफ्नो पक्षमा पार्दै सफलताको सिँढी उक्लनु तपाइका तत्कालीन कर्तव्यहरू हुन आउँछन्। तपाइको दैनिक जीवन, व्यवहार, कारोवार र जीवनका सम्बन्धहरूको हरेक पक्षमा यी कुराहरू लागु हुन्छन्। आफ्नो दैनिकीको ब्याटल तपाइको पक्षमा रहनु नरहनुमा तपाइको समग्र सफलता प्राप्तिमा महत्त्वपूर्ण भूमिका रहन्छ। तर निर्णायक भूमिका रहन्छ भनी सोच्नु वैदिक अवधारणा विपरीत ठानिन्छ। तपाइले गर्ने दैनिक कर्ममा सफलता हात लागोस्-नलागोस् समग्रमा वार जित्ने तपाइको जीवनको उद्देश्य सुचारु रहन जरुरी रहन्छ।

किनकि असफलता वाट सिक्दै र सफलता वाट अनुभव सँगाल्दै तपाइ आफूलाई जीवनको उद्देश्य प्राप्तिको मार्ग तर्फ उन्मुख गराउन सक्नु हुन्छ। आफ्नो दैनिक कर्मले सफलता प्राप्ति गरोस वा नगरोस् तपाईँको धर्म आफ्नो युद्ध कलालाई आफ्नो पूर्ण क्षमतामा सदुपयोग गर्दै अघि बढ्नु हो। कर्म गर, तर फलको आशा नगर भन्ने गीताको भनाइले तपाइलाई आफ्नो जीवनलाई यही मार्गमा समर्पित गराउन प्रेरणा दिन्छ। जसलाई सफल व्यक्तिमा अनिवार्य रहने चरित्रको रूपमा समेत चित्रित गरिने गरिन्छ।

 

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)