फागुन २२, २०७७ शनिबार

तस्बिर - क्यान

काठमाडौं : शनिबार बाट सुरु भएको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । 

शनिबार भएको रोमाञ्चक खेलमा बागमती प्रदेशमाथि २ रनले जित निकालेको हो ।  खेलमा पुलिसले दिएको जम्मा ७३ रनको सामान्य लक्ष्यलाई पछ्याएको बागमती २७.२ ओभरमा सबै विकेट गुमाएर ७० रनमा सिमित हुन् पुगेपछि पुलिसले नाटकीय जित हात पारेको हो । 

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ तथा आदिल खानले १० रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

त्यस्तै यता बलिङमा पुलिसका लागि दीपेन्द्र सिंह एरीले एक्लैले ४ विकेट हात पारे । भने ललित राजबम्शिले ३ तथा सागर ढकालले २ र राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस २५.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ७२ रनमा समेटिएको थियो ।